कञ्चनपुरमा बाढीका कारण ४५ परिवार विस्थापित

जोगबुडा नदीको बाढीका कारण दोधारा चाँदनीका २५ परिवार विस्थापित भएर जनज्योति माध्यमिक विद्यालयमा सुरक्षित स्थानमा सारिएको छ।

भाद्र १६, २०८२

भवानी भट्ट

45 families displaced due to floods in Kanchanpur

कञ्चनपुर — लगातारको वर्षापछि आएको बाढीले ४५ परिवार विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–११ भुजेलामा ५, दोधारा चाँदनी नगरपालिका–८ को रामपुरे टापुमा २५ र सोही नगरपालिका–३ को पटेराखल्लामा १५ परिवार विस्थापित भएका हुन्।

भुजेलामा डुबान हुँदा ५ घरभित्र पानी पसेको छ। ती घरका सदस्यलाई सुरक्षित स्थानमा सारेर मालसामान पनि अग्लो ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराले बताए।

दोधारा चाँदनी नगरपालिका–८ रामपुरे टापु र जर्गा टोलमा जोगबुडा नदीको बाढी पस्दा २५ परिवारका ७० जना विस्थापित भएका छन्। उनीहरूलाई नजिकैको जनज्योति माध्यमिक विद्यालयमा सारिएको छ।

जोगबुडाको बाढी बस्तीमा पस्दा दोधारा चाँदनी नगरपालिका–३ पटेराखल्लाका १५ परिवार विस्थापित भएका छन्। उनीहरूलाई नजिकैको जमुना आधारभूत विद्यालय जमुनाघाडी सारिएको छ।

यसबीच महाकाली नदीमा पानीको बहाव पनि बढ्दै गएको छ। सोमबार दिउँसो ११ बजेको मापन अनुसार नदीमा पानीको बहाव १ लाख ५१ हजार क्युसेक पुगेको छ।

नदीमा पानीको बहाव बढेपछि चारपाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ। नदीमा पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै जीर्ण पुलमा जोखिम हुने भन्दै चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइने गरिएको छ।

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully