बैतडीमा पहिरोले एक जना घाइते, घरमा क्षति

पहिरोले सुर्नया गाउँपालिका –२ चौपतामा आइतबार दिउँसो एक घरमा क्षति पुर्‍याएको छ भने घरभित्र रहेकी ९० वर्षीय वृद्धा घाइते भएकी हुन् ।

भाद्र १५, २०८२

मोहन चन्द

Landslide in Baitadi, one person injured, house damaged

बैतडी — वर्षासँगै आएको पहिरोले सुर्नया गाउँपालिका –२ चौपतामा आइतबार दिउँसो एक घरमा क्षति पुर्‍याएको छ भने घरभित्र रहेकी वृद्धा घाइते भएकी छन् ।

घरमाथिबाट पहिरो आएपछि स्थानीय ग्रीस चन्दको घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

घरमा रहकी चन्दकी ९० वर्षीय आमा गोदावरी चन्द घाइते भएकी हुन् । घाइते चन्दको टाउकोमा गहिरो चोट लागेकाले जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको उनले बताए । 

दिउँसो साढे दुई बजेतिर घरमाथिबाट खसेको पहिराले चन्दको दुई तले १२ कोठे घर पूर्ण रुपमा क्षति भएको उनले बताए । उनले भने, ‘एक जना वृद्धाबाहेक घरका सबै मान्छे गौरा हेर्न गएको बेला पहिरो आएको थियो ।’

बोहराको गोठमा बाँधेका एउटा भैंसी, एउटा पाडो र एउटा बाख्रो पहिरोमा पुरिएको प्रहरी निरीक्षक पाण्डेयले बताए । क्षति पुगेको घरभित्रका अन्नपात, लत्ताकपडा लगायत सबै सामग्री पुरिएका छन् ।

अहिले घटनास्थलमा प्रहरी र स्थानीयहरुले पहिरो पन्छ्याउने कार्य गरिरहेको प्रहरी जनाएको छ । 

घर पहिरोले पुरेपछि बोहराको ११ जनाको परिवार दाइ मोतीराम बोहराको घरमा बसीरहेका छन् ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully