शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउका किसानका दुःख : ट्युब तरेर मचानको बास

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र चौधर नदीको बीचमा रहेको राधापुर क्षेत्रमा एकातिर नदीको कटान अर्कोतिर वन्यजन्तुबाट क्षति । दुवैबाट उत्पादन जोगाउन किसानलाई निकै समस्या भइरहेको छ । उनीहरूले परम्परागत रूपमा मचान बनाएर खेतबारी कुर्ने काम गर्दै आएका छन् ।

भाद्र १४, २०८२

भवानी भट्ट

The plight of farmers near Shuklaphanta National Park: living on scaffolding by floating tubes

What you should know

कञ्चनपुर — बेलडाँडी गाउँपालिका–५ इमिलियाका झिकडु राना राति घरमा कहिलेकाहीँ मात्रै बस्न पाउँछन् । प्राय:जसो उनको बास चौधर नदीपारि रहेको खेतमा हुन्छ । ६० वर्षीय रानाको दैनिकी १५ वर्षदेखि यस्तै चलिरहेको छ । वन्यजन्तुबाट खेतीपाती जोगाउन उनी राति पहरा दिन खेतमै बस्ने गरेका हुन् । खेतमा उनले काठको मचान बनाएका छन् ।

साँझपख घरमा खाना खाएर नदीपारि रहेको त्यहीँ मचानमा सुत्न जान्छन् । खरले छाएको मचानभित्र उनले बिस्तारा राखेका छन् । आफ्नो दुई बिघा जमिनमा उखु खेती गरेका रानालाई वन्यजन्तुबाट बाली जोगाउने चिन्ता छ । उनको खेतमा हात्ती, गैंडा, बँदेल र चित्तललगायत वन्यजन्तु आएर क्षति गर्दै आएका छन् । जनावर धपाएर बाली जोगाउन उनको बास खेतको बीचमा रहेको मचानमा हुने गरेको हो ।

रानाले खेतका किनारमा टिनको डब्बा राखेका छन् । त्यसमा काठले ठोक्किएर आवाज आएपछि वन्यजन्तु भाग्छन् । काठलाई डोरीले बाँध्छन् । त्यो डोरी मचानसम्मै पुग्छ । डोरी तान्ने र छाड्ने गर्दा काठ टिनमा ठोकिन्छ । ‘यति गरेर पनि आधा खेती त खाइहाल्छन्, जोगाउन निकै गाह्रो छ,’ रानाले भने, ‘बर्खामा नदी तरेर खेतमा पुग्नै गाह्रो हुन्छ, त्यसपछि मचान बाहिर निस्किन पनि सर्प र वन्यजन्तुको डर हुन्छ ।’

बीचमा चौधर नदी छ । पूर्वतिर बेलडाडी गाउँपालिका–५ को इमिलिया गाउँ । पश्चिमतिर राधापुर । इमिलियामा बसोबास गर्ने अधिकांशको खेतीपाती चौधरपारि राधापुरमा छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको राधापुरमा पाँच परिवारको मात्रै बसोबास छ । राधापुरलाई स्थानीयले ७२ बिघा पनि भन्ने गर्छन् । त्यहीँ ७२ बिघाको बाली जोगाउन स्थानीयले जताततै मचान बनाएको देखिन्छ । उनीहरू राति मचानमै सुत्ने गरेका हुन् ।

The plight of farmers near Shuklaphanta National Park: living on scaffolding by floating tubes

‘सबैले आ–आफ्नो खेतमा मचान बनाएका छौं,’ इमिलियाकी ५३ वर्षीया बिस्ना चौधरीले भनिन्, ‘१० वर्षदेखि मेरो त मचानमै बास भइरहेको छ ।’ उनका अनुसार राधापुर क्षेत्रमा डेढ दर्जन बढी मचान छन् । जसमध्ये २ वटा पक्की मचान निर्माण गरिएका छन् । चौधरीको आधा बिघा जमिन छ । उनले पनि उखु लगाएका छन् । चौधरीका अनुसार राधापुरको जमिनलाई निकुञ्ज विस्तारका क्रममा अधिग्रहण गरिएको थियो । दर्ता जमिन भएकाले स्थानीयले खनजोतका लागि निवेदन दिए । त्यसपछि जोत्न दिने निर्णय भयो । नापी गर्दा ७२ बिघा देखिएकाले यसको नाम त्यहीँ रहन गएको हो । ७२ बिघामा ५ परिवारको बसोबास पनि छ ।

‘हिउँदमा त चौधर नदीमा पानी कम हुन्छ, आउजाउ गर्न गाह्रो हुँदैन,’ चौधरीले भने, ‘बर्खामा जब नदी उर्लिन्छ, त्यतिबेला ट्युबको भरमा जानुपर्छ निकै गाह्रो हुन्छ ।’ उनका अनुसार साँझ खाना खाएर अँध्यारो नहुँदै सबै आ–आफ्नो मचानमा पुगिसक्छन् । बिहान उज्यालो भएपछि मात्रै घर फर्किन्छन् । घरमा कोही बिरामी भएको दिन वा आफैलाई केही समस्या भएमा रातविरात घर फर्किनुपर्ने चौधरी बताउँछन् । त्यसका लागि गाडीको ट्युब भने सँगै राख्नुपर्छ । बर्खायाममा नदी बढेका बेला घर फर्किन निकै जोखिम हुने उनी बताउँछन् ।

The plight of farmers near Shuklaphanta National Park: living on scaffolding by floating tubes

राति खेतबारीमा वन्यजन्तु आएपछि सबैले एक अर्कालाई फोन गर्ने र सतर्क गराउने काम गरिन्छ । त्यसपछि टिनको पातामा काठले बजाउने काम गरिन्छ । हात्ती आएका बेला भगाउन निकै समस्या हुने चौधरी बताउँछन् । हात्तीले उखु निकै मन पराउँछ । उखु खानुका साथै भाँचेर पनि जाने गरेको छ । बँदेलले पनि उखु तोडेर खाने गरेको उनी बताउँछन् । गैंडा र चित्तलले भने पात मात्रै खाने भएकाले धेरै क्षति नहुने उनीहरू बताउँछन् । ‘गैंडाको बासनै बारीमा हुन्छ,’ झिकडु रानाले भने, ‘तर त्यसले पात मात्रै खाने भएकाले धेरै क्षति भने हुँदैन, बारीमा हिँड्दा बढी नोक्सान भने हुन्छ ।’

राधापुरमा सबैले उखु खेती गरेका छन् । त्यहीँ भएर पनि यहाँ नियमित रूपमा हात्ती आउने गरेको स्थानीय मानमति राना बताउँछिन् । उनको पनि नदी पारि आधा बिघा जमिन छ । उनले पनि उखुखेती नै गरेकी छिन् । दिनमा महिलाहरु घाँस काट्न जान्छन् । उनीहरूले नै वन्यजन्तु पनि धपाउने गर्छन् । राति भने पुरुषहरू जान्छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र चौधर नदीको बीचमा रहेको राधापुर क्षेत्रमा एकातिर नदीको कटान अर्कोतिर वन्यजन्तुबाट क्षति । दुवैबाट उत्पादन जोगाउन किसानलाई निकै समस्या भइरहेको छ । उनीहरूले परम्परागत रूपमा मचान बनाएर खेतबारी कुर्ने काम गर्दै आएका छन् । तर यो निकै जोखिमपूर्ण भने छ । हात्तीको बथान आएर मचान भत्काइदिएमा ज्यान नै जोखिममा पर्ने उनीहरूको डर सुनाउँछन् ।

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully