खोलामा डुबेका एक साथीलाई बचाउन खोज्दा धनगढी उपमहानगरपालिकाका जेफ भण्डारी, जाबेज भण्डारी (जुम्ल्याहा दाजुभाइ), सक्षम जोशी र प्रतीक चौधरीले ज्यान गुमाएका हुन् ।
What you should know
कैलाली — कैलालीको गोदावरी नगरपालिका–९, खुटिया खोलामा डुबेर चार किशोरको ज्यान गएपछि धनगढी शोकमग्न बनेको छ। बिहीबार दिउँसो साथीको जन्मदिन मनाउन गएका सातमध्ये चार जनाको मृत्यु भएको थियो ।
खोलामा डुबेका एक साथीलाई बचाउन खोज्दा धनगढी उपमहानगरपालिकाका जेफ भण्डारी, जाबेज भण्डारी (जुम्ल्याहा दाजुभाइ), सक्षम जोशी र प्रतीक चौधरीले ज्यान गुमाएका हुन् । उनीहरू कक्षा ११ मा अध्ययनरत थिए। बाँकी तीन जना भने सकुशल रहेका छन्।
मृतकमध्ये तीन जना विद्यार्थी वाल्मीकि इन्टरनेसनल स्कुलका थिए भने जेफ भण्डारी ग्यालेक्सी उच्च माध्यमिक विद्यालयमा अध्ययनरत थिए। वाल्मीकि इन्टरनेसनल स्कुलले विज्ञप्ति जारी गर्दै दिवंगत विद्यार्थीको आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ। त्यस्तै, गार्डनर इगल्स स्कुलले आफ्ना पूर्वविद्यार्थी भण्डारी दाजुभाइसहित चारै किशोरको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ।
धनगढी–५ का वडा अध्यक्ष गजेन्द्रबहादुर शाहीले किशोरहरूको मृत्युमा दुःख व्यक्त गर्दै जिम्मेवारी जनप्रतिनिधिहरूको पनि रहेको बताएका छन्। उनका अनुसार, खोलाको गहिरो स्थानमा कुनै चेतावनी वा सूचना संकेत नराखिँदा यस्तो ठूलो मानवीय क्षति भएको हो।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी रणबहादुर चन्दका अनुसार किशोरहरू दिउँसो साढे १२ बजे नदीमा पसेका थिए। खोलाको तीव्र बहावमा परेका उनीहरूको शव करिब चार घण्टापछि स्थानीय, प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा फेला परेको थियो। समूहमा सहभागी सात जना मध्ये नवीन डडाल, युवराज कुँवर र आकाश मल्ल भने सकुशल रहेका थिए।
यो दुर्घटनापछि धनगढी स्तब्ध बनेको छ। सामाजिक सञ्जालदेखि सडकसम्म राजनीतिक दलका नेता, प्रदेश सभा सदस्य, शिक्षक, विद्यार्थी र सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरिरहेका छन्।
