शुक्लाफाँटामा नियमित देखिन थाले काठे भालु र हुँडार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेका अनुसार चुरे फेँदीको भावर क्षेत्रमा पाइने हुँडार बाँके, बर्दिया र शुक्ला कम्पलेक्समा पछिल्लो समय नियमित रूपमा देखा परिरहेको छ ।

भाद्र १०, २०८२

भवानी भट्ट

In Shuklaphanta, kathe bear and houndar were seen regularly

What you should know

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा काठे भालु र हुँडार नियमित रुपमा देखिन थालेका छन् । निकुञ्ज कार्यालयका अनुसार गत वर्ष बाघ गणनाका लागि राखिएका स्वचालित क्यामेरामा हुँडार र भालु देखिएका हुन् ।

‘बाघ गणनाका लागि राखिएका स्वचालित क्यामेरामा देखिएका छन्, तर कति छन् भन्ने विषयमा गणना भने भएको छैन,’ निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले भने, ‘छुट्टै गणना र अध्ययन भने भएको छैन ।’ संरक्षण अधिकृत वाग्लेका अनुसार हुँडार चुरे फेँदीको भावर क्षेत्रमा पाइन्छ । बाँके, बर्दिया र शुक्ला कम्पलेक्समा पछिल्लो समय नियमित रूपमा देखा परिरहेको उनले बताए । काठे भालु पनि तराईमा देखिने गरेको छ । भारतको दुधवा राष्ट्रिय निकुञ्जमा काठे भालुको संख्या बढी मात्रामा छ । सोही क्षेत्रबाट यहाँ पनि बढ्न सक्ने अनुमान गरिएको छ । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सन् २०१३ मा हाइना(हुँडार) र काठे भालु देखिएको राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मीराज जोशीले बताए । उनका अनुसार त्यसपछि बीचमा भने देखिएका थिएनन् । सन् २०२३ पनि भने फेरि नियमित रूपमा देखिन थालेको उनले बताए । 

In Shuklaphanta, kathe bear and houndar were seen regularly

गत वर्ष नै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको ब्रह्मदेव कोरिडोरमा बाघ गणनाका लागि राखिएको क्यामेरामा पनि हाइना देखिएको थियो । उक्त क्षेत्रमा पनि कति हाइना छन् भन्ने विषयमा भने छुट्टै अध्ययन भएको छैन । 

‘शुक्लामा प्रजातिगत विविधता बढ्दै गएको छ, यो हाम्रा लागि निकै राम्रो हो,’ राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख जोशीले भने, ‘सबै प्रजातिको आ–आफ्नो महत्त्व छ ।’ 

३ सय ५ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको शुक्लाफाँटा गत वर्ष गरिएको गणना अनुसार ४३ वयस्क बाघ रहेका छन् । क्यामेरा ट्रयापिङ विधिबाट गरिएको गणनामा २१ भाले र १९ पोथी तथा ३ वटा विश्लेषणका आधारमा गरी ४३ वयस्क बाघ भेटिएका हुन् । बाघको घनत्व बढी भएको निकुञ्जका रूपमा पनि शुक्लाफाँटा चिनिन्छ । 

निकुञ्जको विशाल घाँसे मैदानमा देखिने बाह्रसिङ्गाको झुन्ड यहाँको प्रमुख विशेषता हो । ५४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको घाँसे मैदानमा हजारौंको संख्यामा बाह्रसिङ्गाको बथान देख्न पाइन्छ । २०२३ मा गरिएको गणना अनुसार निकुञ्जमा २३ सय बढी बाह्रसिङ्गा रहेका छन् । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully