गौखुरी मावि मोराहाङ, तेह्रथुम, त्रिभुवन विश्वविद्यालय ग्रामीण विकास केन्द्रीय विभागको चौथो ब्याचका साथी, अग्रज पत्रकार, वैदेशिक रोजगारीमा विभिन्न देशमा रहेका साथीसँग मिलेर लक्ष्मण कार्कीले सहयोग जुटाएका हुन् ।
बैतडी — लडेर थलिएका बैतडी दशरथचन्द–९ का हरीश भुललाई ५० हजार रुपैयाँ आर्थिक सहयोग जुटेको छ । ‘घरमा भोकै बस्नुपरेपछि माइतीको सहारामा आयौं’ खबर कान्तिपुर पत्रिकाको ‘घर खर्च’ स्तम्भमा साउन ३० गते प्रकाशित भएको थियो ।
यही खबर पढेर काठमाडौंबाट लक्ष्मण कार्कीको पहलमा ५० हजार रुपैयाँ संकलन भएको हो । संकलन भएको पूरै रकम हरीशको खातामा जम्मा गरिदिएको उनले बताए । ‘समाचार पढेपछि सहयोग गर्न मन लागेको हो,’ उनले भने, ‘आफूले मात्र सहयोग गर्न नसक्ने अवस्था भएपछि साथीहरूलाई अनुरोध गरेको हुँ ।’
गौखुरी मावि मोराहाङ, तेह्रथुम, त्रिभुवन विश्वविद्यालय ग्रामीण विकास केन्द्रीय विभागको चौथो ब्याचका साथी, अग्रज पत्रकार, वैदेशिक रोजगारीमा विभिन्न देशमा रहेका साथीलगायतले सहयोग हरीशलाई सहयोग गरेको कार्कीले बताए । उनले हरीशको उपचारबारे पनि अस्पतालमा बुझ्ने काम भइरहेको बताए ।
संकलित ५० हजार रुपैयाँ खातामा जम्मा गरेको बैंकबाट सन्देश प्राप्त भएको हरीश भुलले बताए । यो रकम झिकेर केही खाद्यान र बाँकी पैसाले उपचार गर्न अस्पताल जाने उनले बताए ।
कान्तिपुरकै समाचार पढेरै यसअघि कार्कीकै पहलमा बैतडीकी धौली भुललाई पनि ५० हजार रुपैयाँ सहयोग संकलन गरी खातामा जम्मा गरिदिइएका थिए ।
