सरकारले निजी विद्यालयहरूलाई गैरनाफामूलक बनाउने प्रस्ताव ल्याएको भन्दै उनीहरुले विरोध जनाएका छन् ।
What you should know
काठमाडौँ — शिक्षा नीतिविरुद्ध निजी विद्यालय सञ्चालकको छाता संगठन प्याब्सनले सुदूरपश्चिम प्रदेशसभा अगाडि शान्तिपूर्ण प्रदर्शन गरेको छ । प्याब्सन, एन-प्याब्सन, हिसान र अपेन सुदूरपश्चिमको संयुक्त आयोजनामा र्याली निकाल्दै आज प्रदर्शन गरिएको हो । यसको नेतृत्व प्याब्सन सुदूरपश्चिम अध्यक्ष सीबी चन्दले गरेका थिए ।
प्रदर्शनमा सहभागीहरूले 'गैर नाफामूलक चाहिँदैन, कम्पनी हटाउन पाइँदैन', 'सङ्घीय शिक्षा नीति सुधार गर', 'निजी विद्यालयको सम्मान गर', 'विद्यालय एकता जिन्दावाद' र ''निजी विद्यालय मार्न पाइँदैन' भन्दै नाराबाजी गरेका थिए।
उनीहरूले सरकारले निजी विद्यालयहरूलाई गैरनाफामूलक बनाउने प्रस्ताव ल्याएकामा विरोध जनाएका छन् । निजी विद्यालयहरूले देशको अर्थतन्त्र र शिक्षाको स्तरमा पुर्याएको योगदानलाई राज्यले उपेक्षा गरेको र नयाँ नीतिले शिक्षाको स्तर कमजोर बन्ने प्याब्सन सुदूरपश्चिम अध्यक्ष सीबी चन्दले बताए । उनले यो आन्दोलनलाई निजी विद्यालयको मात्र नभएर आम विद्यार्थीहरूको हितका लागि पनि भएको बताए ।
हालको अभ्यासअनुसार जम्मा विद्यार्थी सङ्ख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधान कायम राख्नुपर्ने, पूर्ण छात्रवृत्तिसम्बन्धी शब्द हटाउनुपर्ने, भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम राख्नुपर्ने र निजी विद्यालयलाई गैरनाफामूलक बनाउने प्रस्ताव हटाउनुपर्ने प्याब्सनले माग राखेको छ ।
नीजि विद्यालय सञ्चालकहरूले पनि सरकारले शिक्षा क्षेत्रमा प्रोत्साहन दिनुपर्ने ठाउँमा निरुत्साहित गर्ने नीतिले शिक्षाको गुणस्तर झन् कमजोर हुने बताए । सरकारले समयमै साथै माग सम्बोधन नगरे विद्यालयहरू बन्द गरी व्यापक आन्दोलनमा उत्रिने चेतावनी प्याब्सन सुदूरपश्चिमले दिएको छ ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ५ भदौमा विद्यालय शिक्षा विधेयक पारित गरेको छ ।
