कैलाली कारागारका थुनुवाको मृत्यु

कैलाली कारागारमा दुई महिनाभित्र तीन कैदीको मृत्यु, हिंसात्मक झडप र व्यवस्थापनमा समस्या।

भाद्र ९, २०८२

अर्जुन शाह

Death of an inmate of Kailali Jail

What you should know

धनगढी — कैलाली कारागारका एक थुनुवाको मृत्यु भएको छ । कैलालीको टीकापुर नगरपालिका–४ का ५६ वर्षीय रामकिसन चौधरीको सोमबार मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता राजकुमार सिंहका अनुसार स्वास्थ्यमा समस्या भएपछि चौधरीलाई २ बजे सेती प्रादेशिक अस्पताल पुगाइएको थियो । 

अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका थिए । चौधरीलाई साउन २९ गते जबरजस्तीकरणी मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । पछिल्लो दुई महिनाको अवधिमा कैलाली कारागारका चौधरीसहित तीन जना कैदीबन्दीको मृत्यु भइसकेको छ ।

यसअघि बैंकिङ कसुरमा दोषी ठहर भएर कैलाली कारागारमा सजाय भुक्तान गरिरहेका डडेल्धुराको भागेश्वर गाउँपालिका ५ का २८ वर्षीय हरिसिंह पालीको असार २ गते शंकास्पद मृत्यु भएको थियो । यस्तै साउन २३ गते राति कैदीबन्दीबीच भएको हिंसात्मक झडपमा धनगढी उपमहानगरपालिका ४ का भरत चौधरीको मृत्यु भएको थियो ।

घाइतेहरूलाई कारागारमा पुनःस्थापना गर्न कठिन

एक जना कैदीबन्दीको मृत्यु हुनेगरी साउन २३ राती कैलाली कारागारमा भएको हिंसात्मक घटनामा घाइते भएका ४८ जना ३८ जनालाई कैलाली कारागार प्रशासनले कैलाली कारागारमा पुनःस्थापना गर्न सकेको छैन । उनीहरूलाई डिस्चार्जपछि पनि सेती प्रादेशिक अस्पतालमै राखिएको छ ।

डिस्चार्ज भएकामध्ये हालसम्म सात जनालाई अन्य जिल्लाका कारागामा स्थानान्तरण गरिएको कारागार प्रशासनले जनाएको छ । तीन जनाको काठमाडौंमा उपचारपछि त्यहीँ स्थानान्तरण गरिएको छ । कैलाली कारागार प्रशासक प्रकाश ढुङ्गानाका अनुसार अझै दुई जनाको भने सेतीमा उपचार भइरहेकै छ । 

कारागार प्रशासक ढुंगानाले उनीहरुलाई कैलाली कारागारमै फर्काउदा फेरि समस्या हुनसक्ने जोखिम भएकाले कैदीबन्दीको व्यवस्थापनमा समस्या देखिएको बताए । अन्य कारागारमा स्थानान्तरणका लागि निवेदन माग गरेको बताउँदै ढुंगानाले  १४ जनालाई स्थानान्तरण गर्न लागिएको बताए । 

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully