'उज्यालो दशरथचन्द' कार्यक्रम शुभारम्भ

गोठलापानी, गढी र शाहीलेक बजारमा ७२ नयाँ बल्ब जडान गरियो, उज्यालो अभियानले सार्वजनिक स्थानको सुन्दरता र सुरक्षामा योगदान पुर्‍याउने विश्वास ।

भाद्र ८, २०८२

मोहन चन्द

Launch of 'Ujyalo Dashrathchand' program

बैतडी — दशरथचन्द नगरपालिकाले ‘उज्यालो दरशथचन्द’ कार्यक्रम शुभारम्भ गरेको छ । नगरपालिकाभित्रका मुख्य बजार, सार्वजनिक स्थान र मन्दिरमा बत्ती बाल्ने उद्देश्यले यो कार्यक्रम शुभारम्भ गरिएको हो ।

नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रको प्राविधिक सहयोगमा आइतबार साँझ नगरपालिकाले गोठलापानी, गढी र शाहीलेक बजारमा ७२ वटा बल्ब जडान गरी कार्यक्रमको शुभारम्भ गरेको छ । नगर प्रमुख पुष्करराज जोशीले विद्युत् प्राधिकरणमा राखिएको स्वीच अन गरी कार्यक्रमको शुभारम्भ गरेका हुन ।

यो कार्यक्रम गत आर्थिक वर्षको ९ लाख ९९ हजार ७ सय ३५ रुपैयाँ बजेटबाट संचालन गरिएको र विभिन्न प्राविधिक कारणले असारमा जडान गरेका बल्बलाई आज बालेर शुभारम्भ गरिएको नगरपालिकाका सूचना अधिकारी राजु विष्टले बताए । 

‘सोही कार्यक्रमका लागि चालु आवमा १० लाख बजेट विनियोजन गरिएको छ,’ उनले भने, ‘बजारको बाँकी भाग र अरु ठाउँका बजारमा यही बजेटबाट बत्ती जडान गरिनेछ ।’

चालु आवमा देहीमाण्डौं, मुस्याचौर, जुलाघाट लगायतका बजार र सार्वजनिक स्थानमा बत्ती बाल्ने योजना रहेको नगर प्रमुख जोशीले बताए । ‘दशरथचन्द नगरपालिकाको नीति कार्यक्रमअनुसार कार्यक्रम सुरु गरिएको हो,’ उनले भने, ‘यो उज्यालो कार्यक्रमले नगरपालिकाभित्रका सबै सार्वजनिक स्थानलाई समेट्नेछ ।’

विद्युत् लाइन रहेको ठाउँमा राष्ट्रिय प्रसारण लाइन र नपुगेका सार्वजनिक स्थानहरूमा सौर्य बत्ती जडान गरिने नगर प्रमुख जोशीले बताए । 

उज्यालो यस अभियानले बजार तथा सार्वजनिक स्थानको सुन्दरता एवं सुरक्षामा पनि सहयोग पुग्ने नगरपालिकाले जनाएको छ ।

मोहन चन्द चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully