शुक्रबार राति पहिरोले बोहराको तीन तले घर क्षतिग्रस्त भयो, तर परिवारका सदस्यहरू सुरक्षित रूपमा बाहिर निस्किन सफल भए।
बैतडी — गएराति वर्षासँगै आएको पहिरोले पुर्चौडी नगरपालिका –४ चनकिल्लीमा एक घरमा क्षति गरेको छ । घर माथिबाट पहिरो आएपछि स्थानीय हिमाल बोहराको घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले बताए ।
'शुक्रबार राति १२ बजेतिर घरमाथिबाट खसेको पहिराले बोहराको तीन तले ९ कोठे घर पूर्ण रुपमा क्षति भएको छ,’ उनले भने, ‘ पहिरो खस्न लागेको थाहा भएपछि घरका मानिस बाहिर निस्केकाले मानवीय क्षति भएन ।’
बोहराको गोठमा बाँधेका एक भैँसी, एक पाडो र एक बाख्रो पहिरोमा पुरिएको प्रहरी निरीक्षक बडूले बताए । क्षति पुगेको घरभित्रका अन्नपात, लत्ताकपडा लगायत सबै सामग्री पुरिएका छन् ।
अहिले घटनास्थलमा प्रहरी र स्थानीयहरूले पहिरो पन्छाउने काम गरिरहेको प्रहरी जनाएको छ ।
घर पहिरोले पुरेपछि बोहराको ११ जनाको परिवार दाइ मोतीराम बोहराको घरमा बसिरहेका छन् ।
