अत्यधिक वर्षाले स्कुलको खेल मैदानको पर्खाल भत्किँदा दार्चुलामा एक घरमा क्षति

महाकाली नगरपालिका‐१ लास्कुस्थित दशरथनगर आधारभूत विद्यालयको अगाडितर्फ रहेको खेल मैदानको पर्खाल भत्किँदा नजिकै रहेको एक तले घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

भाद्र ७, २०८२

मनोज बडू

A house was damaged in Darchula when the wall of the school playground collapsed due to heavy rain

दार्चुला — शुक्रबार रातिको अत्यधिक वर्षाका कारण विद्यालय खेल मैदानको पर्खाल भत्किँदा एक घरमा क्षति पुगेको छ । महाकाली नगरपालिका‐१ लास्कुस्थित दशरथनगर आधारभूत विद्यालयको अगाडितर्फ रहेको खेल मैदानको पर्खाल भत्किएर सो ठाउँका वीरसिंह धामीको एक तले घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयअनुसार पर्खाल भत्किँदा घरभित्र माटोसहितको लेदो पसेर घरमा क्षति भएको हो ।  सोही पहिरोका कारण रिना साहुको एक तले पाँच कोठाको पक्की घरको पछाडिको पर्खाल चर्केर घरमा जोखिम बढाएको दार्चुला प्रहरीका सूचना अधिकारी छत्रबहादुर रावतले बताए ।

धामीको ५ जना र साहुको ६ जनाको परिवारलाई स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा नजिकै रहेको आफन्तको घरमा सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । 

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully