डडेल्धुराका विद्यालयमा दिवा खाजा कार्यक्रमले बालबालिकाको उपस्थिति र आकर्षणमा सुधार ल्याएको छ, स्थानीय उत्पादनको उपयोग बढेको छ।
What you should know
डडेलधुरा — डडेल्धुराका सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । दिवा खाजामा रैथाने परिकारलाई लक्षित गरी सञ्चालित कार्यक्रमले विद्यालयमा विद्यार्थीको घट्दो संख्यालाई बढाउन सहयोग गरेको छ ।
डडेल्धुरामा रहेका दुई नगरपालिका र पाँच गाउँपालिका गरी सातवटै स्थानीय तहका सामुदायिक विद्यालयमा दिउँसोको समयमा दिवा खाजाको व्यवस्था गरिएको हो ।
डडेल्धुरा सदरमुकाम खलंगामा रहेको महेन्द्र माविमा गीता भण्डारी दिउँसोको समयमा बालबालिकालाई खाजा दिन व्यस्त हुन्छिन् । सरकारले पाँच कक्षासम्मका विद्यार्थीलाई दिवा खाजा खुवाउने कार्यअन्तर्गत महेन्द्र माविमा बालविकासदेखि पाँच कक्षासम्मका विद्यार्थीलाई बार अनुसार फरक–फरक खाजा खुवाइने गरेको छ । खाजा पकाउने भान्सा सफा राख्ने गरेको र हरेक दिन एउटै खाजा मन नपराउने भएकाले फरक बार फरक खाजा खुवाउने गरेको भण्डारीले बताइन् । महेन्द्र माविले बारअनुसार खाजा बनाउने तालिका नै बनाएको छ । जसअनुसार हलुवा, खिचडी, चनामटर, अण्डा तथा फलफूल मिलाएर विद्यार्थीलाई दिइन्छ । यस प्रकारको सुविधाले विद्यार्थीले घरबाट खाजा बोक्नु परेको छैन । विद्यालयमै ताजा खाजा पाइने भएपछि विद्यार्थी पनि दंग छन् ।
डडेल्धुराको अमरगढी नगरपालिका–११ लिटिरीगाउँका प्रधानाध्यापक मनोरथ पन्तले विद्यालयमा आधारभूत तहसम्मै दिवा खाजा खुवाउने गरेको बताए । कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा बालविकासदेखि कक्षा ८ सम्म १ सय २६ जना विद्यार्थी रहेका छन् । सरकारको नीतिअनुसार बालविकासदेखि कक्षा ५ सम्मका बालबालिकालाई दिवा खाजा कार्यक्रममा समावेश गर्नुपर्ने प्रावधान रहेको भए पनि आफूहरूले कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजा खुवाउने गरेको पन्तले बताए । कक्षा ५ सम्म दिवा खाजाको प्रभावले विद्यार्थी हुने गरेको भए पनि माथिल्लो कक्षाका विद्यार्थी सदरमुकामका अन्य विद्यालयमा जान थालेपछि विद्यार्थीको स्थिरता कायम गर्न सबै विद्यार्थीलाई खाजा दिने गरेको प्रधानाध्यापक पन्तको भनाइ छ । यस कार्यक्रममा रकम अभाव नहोस् भनेर स्थानीय अभिभावकले सहयोग गरिरहेको उनले बताए ।
महेन्द्र मावि खलंगाका बालबालिका ।
अमरगढी नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमन्तराज पन्तले दिवा खाजा कार्यक्रम विद्यार्थीका लागि लाभदायी भएको बताए । उनले यहाँका २७ वटा सरकारी विद्यालयका लागि नगरपालिकाको वार्षिक ४५ देखि ५० लाखसम्म बजेट खर्च हुने गरेको बताए । गुणस्तरीय खाजाका लागि तथा सरसफाइका लागि भान्सेहरूलाई तालिम दिएको उनले बताए । नियमित कार्यको अनुगमनसँगै दिवा खाजा कार्यक्रमको पनि अनुगमन गर्ने गरेको उनले बताए । विद्यालयमा रहेका विद्यालय नर्सले पनि गुणस्तरीय खाजा, पोषण र सरसफाइका लागि काम गरिरहेको उनले सुनाए । ‘नगरपालिकाबाट जाने अनुदानको उपयोगको अवस्थाको मापनका लागि हामी त्रैमासिक/चौमासिक रूपमा विद्यालयबाट रिपोर्टहरू लिन्छौं,’ उनले भने, ‘नगरपालिकाले नै बनाएर दिएको तालिकाका आधारमा विद्यालयले दिवाखाजा उपलब्ध गराइरहेका छन् ।’
दिवा खाजा कार्यक्रम विद्यालयका लागि सकारात्मक पाटो भएको परशुराम नगरपालिकाको परिगाउँमा रहेको परशुराम प्राविका प्रधानाध्यापक मानबहादुर विष्टले बताए । उनले सरकारी विद्यालयमा घट्दै गइरहेको विद्यार्थी दरलाई यस कार्यक्रमले केही हदसम्म रोकेको बताए । परशुराम नगरपालिका–४ रजौडामा रहेको समैजी आधारभूत विद्यालयकी शिक्षिका कल्पना पाण्डेयले यो कार्यक्रम बालविकासदेखि कक्षा ५ सम्म लागू हुँदा माथिल्लो कक्षाका विद्याथीले खल्लो महसुस गर्ने बताइन् । उनले कक्षा ८ सम्म यो कार्यक्रम लागू हुनुपर्नेमा जोड दिइन् ।
आलिताल गाउँपालिका–४ स्थित श्री भीमदत्त प्राविकी प्रधानाध्यापक देवकी ऐर (बोहरा)ले दिवाखाजा कार्यक्रमले विद्यार्थी टिकाउन मद्दत पुगेको बताइन् । उनले बसाइँसराइले विद्यार्थी संख्यामा पनि प्रभाव परेको बताइन् । ‘अहिले यहाँ परिवार संख्या पनि घटेका छन्, जसको प्रभाव विद्यालयमा पनि परेको छ । यद्यपि बालबालिकालाई दिवा खाजाले विद्यालयमा टिकाउन सहयोग गरेको छ ।’ उनले स्थानीय उत्पादन र फलफूल दिवा खाजाका रूपमा खुवाइरहेको पनि बताइन् ।
विद्यालयमा दैनिक रूपमा अण्डा, फलफूल, चिउरा, तरकारी, खीरजस्ता खानेकुरा दिइन्छ । स्वास्थ्यका हिसाबले उपयोगी र पोषणयुक्त खाजा प्रदान गर्ने उद्देश्यले विद्यालयले स्थानीय स्रोत र समुदायसँगको सहकार्यमा तालिका अनुसार खाजा व्यवस्थापन गर्दै आएको आलिताल गाउँपालिका–१ मा अवस्थित भुवनेश्वरी मावि हर्तोलाका प्रधानाध्यापक वासुदेव बोगटीले बताए । ‘खाजा बनाउने चमेनागृह पनि सफा सुग्घर बनाउन निरीक्षण पनि गर्ने गरेका छौं,’ उनले भने ।
अजयमेरु गाउँपालिकाको चिपुरमा रहेको मणिलेक माविका प्रधानाध्यापक राजेन्द्रप्रसाद चटौतले बालबिकासदेखि कक्षा ५ सम्मका बालाबालिकालाई दिइने दिवा खाजाले उनीहरूको शारीरिक र मानसिक वृद्धिमा पनि सहयोग पुग्ने बताए । उनी स्थानीय रैथाने उत्पादनलाई दिवा खाजामा समावेश गर्ने गरेको बताउँछन् । उनका अनुसार विद्यालयले प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँ बराबरको खाजा उपलब्ध गराउँदै आएकामा यो आर्थिक वर्षबाट प्रतिविद्यार्थी २० रुपैयाँका दरले गाउँपालिकाले रकम उपलब्ध गराएको बताए । उनका अनुसार विद्यार्थीलाई पुग्ने गरी पालिकाले हरेक तीन/तीन महिनामा रकम दिने गरेको छ ।
दिवाखाजा कार्यक्रमका लागि वार्षिक ४४ लाख बराबरको रकम विद्यालयलाई प्रदान गर्ने गरेको अजयमेरु गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । शाखा अधिकृत हरिप्रसाद पन्तका अनुसार दिवा खाजा कार्यक्रमका साथै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि गाउँपालिकाले योजना बनाएको छ । बढ्दो बसाइँसराइका कारण विद्यार्थी संख्या पनि घटिरहेको सन्दर्भमा उनले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन चुनौती रहेको बताए ।
प्रायः सबै पालिकाले खाजामा स्थानीय उत्पादन समावेश गर्न जोड दिएका छन् । नवदुर्गा गाउँपालिकाको चिल्फीमा रहेको नवदुर्गा माविका प्रधानाध्यापक उमेशराज उप्रेतीले दिवा खाजा कार्यक्रम प्रभावकारी भएको बताए । भटमास लगायतका स्थानीय उत्पादनलाई दिवा खाजामा समावेश गर्ने गरेको उनले बताए । स्थानीय सरकारले प्रदान गर्ने बजेटबाट दिवा खाजामा खर्च भइरहेको उनले बताए । विद्यालय व्यवस्थापन समितिबाट एक जना भान्सेलाई दिवा खाजा व्यवस्थापनको जिम्मा दिएको पनि उनले सुनाए ।
गन्यापधुरा गाउँपालिका–३ मा रहेको जनता प्राविका प्रधानाध्यापक दिलबहादुर धामीले बालविकासदेखि कक्षा ५ सम्म अहिले ६० जना विद्यार्थी अध्ययनरत रहेको बताए । उनले विद्यालयमा प्रदान गरिने खाजाले विद्यार्थी टिकाउन सहयोग पुगेको बताए । बालबालिकालाई संस्थागत विद्यालयमा पढाउन नसक्ने अभिभावकका लागि सामुदायिक विद्यालयमा रहेको दिवा खाजा कार्यक्रमले थप टेवा पुर्याएको उनको भनाइ छ ।
भागेश्वर गाउँपालिका–३ सतिगाउँको भागेश्वर आधारभूत विद्यालयमा कक्षा ५ सम्म मात्र पढाइ हुने गरेको छ । विद्यार्थी संख्या न्यून रहेको छ । विद्यालयमा जम्मा २० जनामात्र विद्यार्थी छन् । विद्यालयका प्रधानाध्यापक आशिष भाटका अनुसार बसाइँसराइले विद्यार्थीको संख्यामा पनि कमी आएको छ । जिल्ला सदरमुकाम तथा तराईतिर बसाइँसराइ बढेकाले विद्यार्थी संख्यामा कमी आएको हो । विद्यालयमा पाइने दिवा खाजाले केही मात्रामा भए पनि विद्यार्थी टिकेको उनले बताए । उनका अनुसार बसाइँसराइ बढ्दै गए विद्यालय खाली हुने चिन्ता छ ।
शिक्षा विकास तथा समन्वय इकाइ डडेल्धुराका प्रमुख खडक महताका अनुसार सरकारी विद्यालयमा लागू गरिएको दिवा खाजा कार्यक्रम विद्यार्थी भर्ना र उपस्थिति टिकाउन प्रभावकारी बनेको छ । उनले भने, ‘पालिकाहरूकै नेतृत्वमा विद्यालयमा अनुगमन हुने गरेको छ । हालसम्म अनुगमन गरिएका विद्यालयमा यो कार्यक्रमको प्रभाव राम्रो देखिएको छ ।’ उनका अनुसार विद्यालयले स्थानीय उत्पादनलाई नै जोड दिएको पाइएको छ । साथै दिवा खाजा बनाउने भान्सा घर पनि व्यवस्थित अवस्थामा भेटिने गरेका छन् ।
डडेल्धुरामा दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा सकारात्मक प्रभाव पारिरहेको छ । विद्यालयमा बालबालिका टिकाउने र उनीहरूलाई पढाइप्रति आकर्षित गराउन यो कार्यक्रम अझ प्रभावकारी बनाउन शिक्षक, अभिभावक र स्थानीय सरकारबीचको समन्वय बलियो हुनु आवश्यक छ ।
