साउन २९ गतेदेखि बेपत्ता भएका आमा र छोरीको शव फेला, पोस्टमार्टमका लागि टीकापुर पठाइयो। प्रहरीको अनुसन्धान जारी।
कैलाली — कैलालीमा आमा र १० महिने छोरी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । घोडाघोडी नगरपालिका-७ कि २१ वर्षीया आरती डंगौरा र उनकी छोरी अनुजा टगौरानजिकैको गौरीशंकर सामुदायिक वनमा मृत अवस्थामा भेटिएका हुन् ।
इलाका प्रहरी कार्यालय सुखडका अनुसार उनीहरू साउन २९ गतेदेखि बेपत्ता भएका थिए ।
सुरूमा छोरीलाई झुन्ड्याएर र त्यसपछि आमाले आत्महत्या गरेको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । तर, विस्तृत जानकारी अनुसन्धानपछि मात्र थाहा हुने प्रहरीले जनाएको छ । दुवैको शवलाई पोस्टमार्टमका लागि टीकापुर अस्पताल पठाइएको छ ।
प्रहरीका अनुसार घटनाबारे अहिलेसम्म जाहेरी परेको छैन तर माइती पक्षले आत्महत्या दुरुत्साहनमा जाहेरी दिने तयारी गरिरहेको छ । आरतीको दुई वर्षअघि बिहे मात्रै विवाह भएको हो ।
