विस्तार हुँदै श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती

सुदूरपश्चिमका ४ वटा पहाडी जिल्ला डडेलधुरा, बैतडी, डोटी र बझाङमा स्थानीय किसानसँगको सहकार्यमा रक्तचन्दनको व्यावसायिक खेती विस्तार गर्ने योजना छ ।

श्रावण ३१, २०८२

चित्रांग थापा

Commercial cultivation of Srikhand and Raktakhandan is expanding

What you should know

काठमाडौँ — १० वर्षअघि पश्चिम तराईको कञ्चनपुरमा सुरु गरिएको रक्तचन्दन तथा श्रीखण्डको नर्सरी तथा व्यावसायीक खेती सुदूरपश्चिमका पहाडी जिल्लामा समेत विस्तार हुन थालेको छ ।

स्थानीय व्यवसायीको पहलमा स्थापना भएको नेपाल चन्दन प्रालिले हाल रक्तचन्दनका बिरुवा उत्पादन गर्ने नर्सरीसँगै व्यावसायिक खेती सुरु गरेको हो । चन्दन विशेषज्ञका रुपमा पहिचान बनाएका विजयराज पन्तले २०७३ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१ भासीमा नेपाल चन्दन प्रालि स्थापना गरी पहिलो चरणमा परीक्षणका रुपमा ८ कठ्ठा जमिन लिजमा लिएर साझेदारी यो व्यवसाय सुरु गरेका हुन् । 

सुरुको फार्ममा रक्त चन्दनका १ सय ३ रुख हुर्किरहेका छन् । उनले ९ वर्षमै ती रुख कटान गर्ने सोचअनुसार वन विभागबाट अनुमति समेत लिएका थिए । तर १८ वर्ष अवधि पार गरेका रुखमा मात्र भित्री चुरोको काठ तयार हुने चन्दनविज्ञले सल्लाह दिएकाले थप ९ वर्ष अझै पर्खिनुपरेको उनले बताए । ‘होचो जमिन भएकाले पानी जम्ने तथा आसपासमा बस्ती विस्तार हुन थालेपछि आशा गरेजस्तो आकारमा बिरुवा हुर्कन सकेनन्,’ पन्तले भने, ‘३ वर्षअघि दोस्रो चरणमा थप १ बिघा जमिन लिज र साझेदारीमा लिएर नर्सरी र व्यवसायिक खेती सुरु गरेका छौं ।’

उनका अनुसार दोस्रो चरणमा ३ वर्षअघि १ बिघामा रोपेका ४ सय श्रीखण्डका बिरुवा र २/२ सय गरी ४ सय रक्तचन्दन र अगरउडका गरी ८ सय बिरुवा यतिबेला हुर्किरहेका छन् । ‘दोस्रो चरणमा रोपिएका बिरुवामा पहिलेको जस्तो समस्या देखिएको छैन, जग्गा अलि उँचो ठाउँमा भएकोले बिरुवा हुर्कन समस्या छैन,’ उनले भने ।

Commercial cultivation of Srikhand and Raktakhandan is expanding

व्यवसायी पन्तले श्रीखण्ड र रक्तचन्दन तथा अगरउडको बीउ भारतको दक्षिणी राज्य कर्नाटकको बैंग्लुरु र आन्ध्र प्रदेशको तिरुपतिबाट भित्र्याएका हुन् । उनले बिरुवा उत्पादन गर्ने नर्सरी र व्यावसायिक उत्पादनका सम्बन्धमा लामो समय भारतका दक्षिणी राज्य पुगेर आवश्यक जानकारी र प्राविधिक ज्ञान हासिल गरेका छन् । बिरुवाहरु आफ्नै नर्सरीमा उत्पादन गरी जग्गा लिजमा लिएर कम्तीमा १५ वर्षसम्म रोप्दै जाने र १८ वर्ष पुगेपछि कटान गरेर चन्दनमा आधारित उद्योग सञ्चालन गर्ने उनको लक्ष्य रहेको छ ।

‘तर २० वर्षसम्म निरन्तर बिरुवा रोप्ने वयस्क हुने अवधिसम्म जग्गा लिजमा पाउन गाह्रो भएको छ,’ व्यवसाय सञ्चालनमा देखापरेका समस्या औल्याउँदै पन्त भन्छन्, ‘सरकारी र निजी क्षेत्रबाट जग्गा साझेदारीमा वा लिजमा लिने धेरै प्रयास गरे पनि सफल हुन सकेन ।’

यो वर्षदेखि नयाँ मोडालिटीमा यो व्यवसायलाई विस्तार गर्ने योजनामा जुटेको उनले जानकारी दिए । 'नयाँ मोडालिटी भनेको यसै वर्षदेखि सुदूरपश्चिमका ४ वटा पहाडी जिल्ला डडेलधुरा, बैतडी, डोटी र बझाङमा स्थानीय किसानसँगको सहकार्यमा रक्तचन्दनको व्यावसायिक खेती विस्तार गर्ने योजना छ,’ उनले भने, ‘उक्त योजनाअन्तर्गत दसैंपछि ती जिल्लामा इच्छुक किसान र जमिन छनोट गर्ने काम सुरु गरेर आउँदो असारदेखि असोजको बीचमा वृक्षारोपण गर्ने लक्ष्यसहित काम अघि बढाएका छौं ।’

उनका अनुसार यो कार्यक्रममा सहभागी हुने किसानलाई कम्पनीले किसान छनोट गरी समूह बनाउने, नि:शुल्क बिरुवा उपलव्ध गराउने, बिरुवा ढुवानी गरी पुर्‍याइदिने र रोपेदेखि कटानसम्म सम्पूर्ण प्राविधिक सहयोग जुटाउने योजना रहेको छ । ‘यो योजनामा कृषक र नेपाल चन्दन प्रालिबीच आपसी समझदारीमा उत्पादित चन्दनको नाफा बाँड्ने सहमति हुनेछ,’ पन्तले बताए ।

स्थानीय तह, विभिन्न संघसंस्था तथा सरकारी निकाय पनि यो मोडालिटीमा सहभागी भएमा रक्तचन्दनको व्यावसायिक खेती पहाडी जिल्लामा विस्तार गर्न झनै सहज हुने उनी बताउँछन् ।

बैंकहरुले रक्तचन्दन हुर्केर कटानी गर्ने बेलासम्म लामो समयका लागि जायजेथा धितो राखेर पनि लगानी नगर्ने भएकाले योजना विस्तार गर्न चुनौती छ । तर खेतबारीको खाली जग्गामा ५/१० बिरुवाका हिसाबले पनि कृषकहरु रक्तचन्दन खेती गर्न जागरुक भएमा आर्थिक दृष्टिकोणले निकै पाइदा हुने पन्तको दाबी छ । ‘मैले हालसम्म १८ लाख मात्र बैंकबाट लिएको हुँ, २ वर्षभित्रै बैंकलाई सबै चुक्ता गरे,’ पन्तले भने, ‘हाल बिउ खरिद, नर्सरी व्यवस्थापन, कामदारको पारिश्रमिक बिरुवा बेचेर भएको आम्दानीबाट खर्च चलेको छ ।’

Commercial cultivation of Srikhand and Raktakhandan is expanding

उनले असारयता आफ्नो नर्सरीमा उत्पादित १५ हजार बोट रक्तचन्दन र श्रीखण्ड बिक्री गरिसकेका छन् । ‘असोजसम्म २० हजार बढी बिरुवा बिक्री हुने देखिन्छ,’ उनले भने । कञ्चनपुरस्थित पन्तको फार्ममा खुद्रा बिक्री प्रति बोट २ सय र थोकमा प्रतिबोट १ सय ५० रहेको छ । ‘एक वयस्क श्रीखण्ड वा रक्तचन्दनको रुखबाट २० देखि २५ किलोसम्म भित्री चुरो काठ तथा जरा उत्पादन हुन्छ, अहिलको बजार मूल्यको हिसाबले कम्तीमा १ लाख आम्दानी हुन जान्छ,’ पन्तले भने, ‘एक किसानले आफ्नो जग्गामा १ सय रुख रोप्ने हो भने १५ देखि १८ वर्षभित्र १ करोड कमाउन सक्छ ।’

पन्तका अनुसार नेपालमा चन्दन प्रशोधनका लागि झापामा कुलायन नेचुरल हर्बल प्रालि सञ्चालनमा रहेको छ । त्यहाँबाट चन्दन प्रशोधन गरी उत्पादित तेल अमेरिका, फ्रान्स र जर्मनीमा निर्यात हुने गरेको छ ।  अन्य व्यवसायीहरुले पनि प्रशोधित रक्तचन्दन निकासी गर्दै आएका छन् ।

नेपालमै बढी मात्रामा चन्दन पाउने ठाउँ प्युठान हो । त्यस्तै बझाङको जुहु सामुदायिक वनलगायत देशका विभिन्न क्षेत्रमा श्रीखण्ड तथा रक्तचन्दन पाइन्छ । ५ देखि ४५ डिग्रि सेल्सियस तापक्रममा तराईदेखि पहाडका बेँसी क्षेत्रमा श्रीखण्ड र रक्तचन्दन उत्पादन हुन सक्ने पन्तले बताए । रोप्नलायक बिरुवा कम्तीमा ८ महिनाको ३५ सेन्टिमिटर उचाको हुनुपर्छ । 

चित्रांग थापा थापा कान्तिपुरका सुदूरपश्चिम संवाददाता हुन् ।

Link copied successfully