परिवारले बालिकालाई उपचारका लागि स्वास्थ्य संस्था नलगी धामीझाँक्री बोलाएर झारफुक गरेका थिए ।
बैतडी — बैतडीमा झाडापखालाले एक बालिकाको मृत्यु भएको छ । डिलाशैनी गाउँपालिका–४ का सुरेन्द्र रोकायाकी– १३ वर्षीया छोरी आरतीको झाडापखालाबाट मृत्यु भएको हाडाकोट स्वास्थ्य चौकी इन्चार्ज वीरेन्द्र बोहराले बताए ।
‘घरपरिवारले बालिकालाई उपचारका लागि स्वास्थ्य संस्था लैजान नमानेपछि ज्यान गएको बुझिन आएको छ,’ बोहराले भने, ‘स्वास्थ्य संस्था लैजानुको सट्टा घरमै धामीझाँक्री बोलाएर झारफुक गरेका रहेछन् ।’
तीन दिनदेखि झाडापखाला लागेकी रोकायाको सोमबार बिहान घरमै मृत्यु भएको हो । मृत्युको खबर पाएपछि स्वास्थ्यकर्मी घटनास्थल पुगेका थिए । स्वास्थ्य चौकी र मृतक बालिकाको घरको दुरी अढाई घण्टाको छ ।
मृतक बालिकाका ११ वर्षीय भाइ कपील रोकायालाई पनि झाडापाखाला देखिएको छ । उनलाई औषधि दिएर आएको इन्चार्ज बोहराले बताए ।
बालिका महेश्वरी मावि न्वाघरमा कक्षा ८ मा अध्ययनरत हुन् । उनका बुबा रोजगारीका लागि भारतमा रहेका छन् । बैतडीमा गत आर्थिक वर्षमा ४ हजार ५३९ जनामा झाडापखाला देखिएको स्थास्थ्य कार्यालय बैतडीको तथ्यांक छ । तथ्यांकअनुसार सबै रोगी स्वास्थ्य उपचार गरेपछि ठिक भएको कार्यालयका सूचना अधिकारी बिपीन लेखकले बताए । झाडापाखाला फोहर पानीबाट हुने भएकाले शुद्ध पानी पिउन वा पानीलाई उमालेर मात्र प्रयोग गर्न लेखकले आग्रह गरेका छन् ।
