मकैबारीमा दिउँसै बँदेलका बथान

बँदेलले दिनरात बाली सखाप पारेपछि किसानले खेतमै जाग्राम बस्न थालेका छन्। सरकारी निकायले सहयोग नगर्दा उनीहरू चिन्तित छन्।

श्रावण २६, २०८२

मोहन चन्द

A herd of wild boars in the cornfield

What you should know

बैतडी — बैतडीमा यतिबेला पाखोबारीमा मकै बाली पाक्ने तरखरमा छ । मकै कतै पाक्न लागेको छ, कतै घोगा लाग्दै छन् । पाक्दै गरेको मकै बालीलाई दिउँसै आएर बँदेलको बथानले नोक्सान पार्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । यहाँका किसान मकैलाई अन्नमा सबैभन्दा भोक मेट्ने बालीका रूपमा लिन्छन् ।

अरु वर्ष राती बारीमा आएर खाने बँदेलले यस वर्ष दिउँसै खान थालेपछि किसान चिन्तित बनेका हुन् । रातभरि मकैबारीमा बँदेल आउँछ र धपाउँला भनेर टहरो हाली बसेका शिवनाथ–१ का किसान मदन साउँदले घर नजिकैको बारीमा दिउँसै बँदेलको बथान आएर मकै सखाप पारेको बताए ।

‘दिउँसो आउँदैन कि भनेर सबै जना आ–आफ्नो काममा गयौं, त्यही समयमा बथानै आएर खाइ सखाप पारेको रहेछ,’ उनले भने, ‘पहिले दिनमा आउँदैन्थ्यो, यो वर्ष त दिउँसै पनि आउन लाग्यो ।’ 

दिनमा जंगलमा गएर लुक्ने र राती आएर बाली खाने बँदेल यस वर्ष दिउँसै आउन थालेपछि किसान रातदिन बारीमै टहरो हालेर बस्न थालेका छन् ।

जिल्लाका केही ठाउँमा भर्खर मकै बालीमा घोगा लाग्न थालेका छन् । केही ठाउँमा मकै पाक्ने तयारीमा रहेको किसानले बताए । यो सिजनमा मकै बालीसँगै कोदो, मादुरो, कागुनो, बाजुर र कहीँकतै धान पनि लगाइन्छ । अरु बालीलाई बँदेलले खाँदैन, लडीबुडी गरेर भाँचिदिन्छ । 

घाम पानी भोक प्यासको प्रवाह नगरी हुर्काएको मकै भित्राउने समय बँदेलले सखाप पारेपछि यहाँका किसान हैरान बनेका छन् । मदनको मात्र नभएर जिल्लाका अरु ठाउँका किसानको मकैबाली पनि बँदेलले नोक्सान गरेको छ । A herd of wild boars in the cornfield

पञ्चेश्वर–२ की किसान चन्द्रावती चन्दको गुनासो पनि त्यस्तै छ । ‘रातभरि मकैबारीमा बँदेल धपाउन टहरा हाली बसेकी थिएँ । बिहान चिया पिउन घरमा जाँदा बारीमा बँदेलको बथान आएर सखाप पार्‍यो,’ उनले भनिन्, ‘रातदिन ड्युउटी गर्दा पनि बर्खेखेती बँदेलबाट बचाउन सकिएन ।’

हलक्क बढेको मकैबारीमा यताको छेउबाट कुनासम्म देख्नै सकिँदैन । एउटा घरबाट अर्को घर र एक टहरोबाट अर्को टहरो पनि देखिँदैन । तल्लो गरामा मकै खाइरहेको भए पनि माथिल्लो गराबाट देख्न सकिँदैन । ‘यताबाट लखेट्यो उताको खेतमा भाग्छ, उताबाट लखेट्यो यताको खेतमा पस्छ,’ स्थानीय लक्ष्मण चन्दले भने, ‘मान्छे मकैबारीमा गए हराउँछ, टहरोबाटै हल्ला गरेर वा ड्रम बजाएर बँदेल धपाइरहेका छौं ।’

मेलौली नगरपालिका–५ की किसान जन्तरा भट्ट दम्पतीको पनि अहिलेको दैनिकी बँदेलका लागि जाग्राम बस्नु नै छ । ‘बँदेलले गर्दा घरमा बास बस्न नै पाइएको छैन,’ उनले भने, ‘हाम्रो बास त अहिले खेतमै छ, मकै भित्रिएपछि मात्रै घरमा बास हुन्छ होला ।’ 

जिल्लाको स्वराड क्षत्रमा (मेलौली नगरपालिका, पञ्चेश्वर र शिवनाथ गाउँपालिका) मात्रै चितुवाले ७/८ वर्षका दौरानमा २६ जनाको ज्यान लिसकेको डिभिजन वन कार्यालय बैतडीको तथ्यांक छ । यहाँका किसान बँदेलबाट मकैबाली जोगाउन चितुवाको पनि पर्वाह गर्दैनन् । गाउँका सबै परिवारका आ–आफ्नो बारीमा राती टहरो हालेर बस्ने गरेका छन् । 

चितुवाको डर मानेर घरभित्र सुते मकै बँदेलले सखाप पारिदिन्छ । त्यसभन्दा त खेतकै टहरोमै बसेर होहल्ला गरे चितुवा पनि नआउने र मकैबाली पनि बँदेलबाट जोगाउन सकिन्छ कि भनेर रातभर जाग्राम बसेको भट्टले बताइन् ।

बदेलले मकैबालीमा क्षति गरेको छ भन्ने सुन्नमा आएको तर आधिकारिक रूपमा क्षतिपूर्तिका लागि निवेदन नदिएको डिभिजन वन कार्यालय बैतडीका डिभिजनल वन अधिकृत भरतप्रसाद भट्टले बताए । 

क्षति गरेको सम्पूर्ण कागजातसहित आधिकारीक निवेदन दिए क्षतिको प्रकृति अनुसार १० हजार रुपैयाँसम्म क्षतिपूर्ति दिइने प्रमुख भट्टले बताए । किसानको मकैबाली बँदेलले यति क्षति गर्दा पनि स्थानीय तहको कृषि शाखाले भने कुनै चासो देखाएका छैनन् ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully