खप्तडमा खापर दह मेला 

प्रकृतिको अनुपम उपहार एवं धार्मिक दृष्टिले प्रसिद्ध खापर दह खप्तड क्षेत्रको मुख्य दर्शनीय र आस्थाको गन्तव्य हो ।

श्रावण २४, २०८२

अर्जुन शाह

Khapar Dah Mela in Khaptad

What you should know

धनगढी — जनैपूर्णिमाका अवसरमा खप्तड क्षेत्रमा अवस्थित खप्तड दहमा ‘खापर दह’ मेला सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु भएको मेला शनिबार सम्पन्न भएको हो । 

प्रकृतिको अनुपम उपहार एवं धार्मिक दृष्टिले प्रसिद्ध खापर दह खप्तड क्षेत्रको मुख्य दर्शनीय र आस्थाको गन्तव्य हो । जनै पूर्णिमाको अवसरमा यहाँ हरेक वर्ष भव्य मेला लाग्ने गरेको छ । पूजाआजाका साथै मेला भर्नका लागि खप्तडमा यसबेला बझाङ, बाजुरा, अछाम र डोटी लगायत जिल्लाबाट सयौँको संख्यामा भक्तालु तीर्थजनका साथै पर्यटकहरु आइपुग्छन् । 

खापर दह मेलाका अवसरमा खप्तड राष्ट्रिय निकुञ्जको सुरक्षार्थ स्थापित खप्तडस्थित समरजित गुल्मले खापर दह क्षेत्रमा मेला हुनुभन्दा अगाडी र मेला समापन भएपछि सरसफाइ गरेको गुल्मपति सेनानी अनुपम अर्यालले बताए । साथै, मेलामा आउने भक्तजनहरुको स्वास्थ्यलाई ख्याल गर्दै स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको गुल्मपति अर्यालले बताएका छन् । ‘स्वास्थ्य शिविरबाट ६५ महिला र ७३ पुरुष गरी एक सय ३८ जनालाई स्वास्थ्य सेवा प्रदान गरेका छौं,’ सेनानी अर्यालले भने ।

Khapar Dah Mela in Khaptad

खप्तड देशभरका पर्यटकहरुका लागि रोजाइको गन्तव्य हो । खप्तडको थलीमा पाइला टेक्दा त्यहाँको प्राकृतिक रमणीयताले मन्त्रमुग्ध बनाउँछ । जता हेर्‍यो उतै फराकिला घाँसे मैदानहरु छन् खप्तडमा । स्थानीय बोलीचालीमा पाटन भनिने ती घाँसे मैदानहरुमा फुलेका बहुरङ्गी फूलहरूले जो कसैको मन बहकाउँछ । पाटनहरुमा फूलहरू निक्कै सिपालु कालिगडले बनाएका आकर्षक गलैँचाहरु जस्ता देखिन्छन् । खप्तडका तिनै पाटनहरुमा उन्मुक्त भएर चरिरहेका घोडा र भेडाका बथानहरु अनि आकाश छर्लङ्ग खुलेको दिन चाँदीझैँ टल्किएका हिमश्रृंखलाहरुको  दृश्यावलोकन गर्न पाउँदा हृदय नै चङ्गा हुन्छ । 

खप्तडको चर्चा २०२२ सालमा तत्कालीन राजा महेन्द्रले त्यहाँ साधनारत खप्तड बाबासँग भेट गरेपछि चुलिएको हो । स्थानीयका अनुसार खप्तड बाबाकै अनुरोधमा यहाँको २२५ वर्ग किलोमिटर क्षेत्रफल समेटेर ०४० सालमा तत्कालीन राजा वीरेन्द्रले खप्तड राष्ट्रिय निकुञ्ज स्थापना गरेका हुन् । खप्तड समुद्री सतहबाट एक हजार ४ सय २० मिटरको चौकी भन्ज्याङदेखि तीन हजार ३ मिटर उचाइको सहस्रलिंगसम्म फैलिएको छ । 

खप्तड क्षेत्र र यहाँका पाटन, ताल, गुफा आदि प्राचिन सभ्यता, संस्कृति र विभिन्न पौराणिक तथा धार्मिक कथा प्रसंगहरूसँग जोडिएको पाइन्छ । खप्तडले मानव संस्कृतिको आरम्भदेखि तपस्वीहरूको साधना केन्द्र, ईश्वरको क्रीडा क्षेत्र एवं धार्मिक व्यक्तिको तीर्थधामका रूपमा अग्रस्थान ग्रहण गरेको जनविश्वास रहिआएको छ । 

खप्तड क्षेत्र जैविक विविधताका दृष्टिले पनि अमूल्य छ । कैलाश हिमशृंखला पर्ने यस क्षेत्रमा २२ वटा घाँसे मैदानका फाँट, ९ वटा दह र ५२ थुम्काहरू रहेकाको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक खड्का बताउँछन् । उनका अनुसार खप्तडमा २५० भन्दा बढी प्रकारका जडीबुटी, ५६७ प्रजातिका फूल फुल्ने प्रजातिका वनस्पति, २३ प्रजातिका वन्यजन्तु पाइन्छन् । बहुमूल्य खनिज र इन्धनसमेतको खजाना रहेको मानिने खप्तडको थप अनुसन्धान त भएकै छैन । 

जेठ–असारमा फूलहरुको बगैचा झै हुने खप्तड असोज–कात्तिकमा हिउँको तन्ना ओड्छ । बहुरङ्गी फूलले सु–सज्जित पिरामिड शैलीका दर्जनौं पर्वत शृंखला छन्, फराकिला पाटनहरु, वन्यजन्तु र हिमालयको दृश्यावलोकनले हरकसैलाई रोमाञ्चित बनाउँछन् । पाटन र थुम्काहरू रहेको खप्तडको मध्यभागमा शिवलिंग स्वरूपको सहस्रलिंग छ । 

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully