उत्तराखण्ड बाढी : बेपत्ता परिवारका सदस्य पुगे पौडीगढवाल

खडका र थापा परिवार पहिरोपीडितको खोजीमा बकुडा पुगे, मन्त्री रावतले राहत उपलब्ध गराउने आश्वासन दिएका छन्।

श्रावण २३, २०८२

भवानी भट्ट

Uttarakhand Flood: Missing family members reach Paudigarhwal

What you should know

कञ्चनपुर — भारत उत्तराखण्डको पौडीगढवाल जिल्ला अन्तर्गत थलिसेन ब्लकको बकुडा गाउँमा बेपत्ता भएका नेपाली कामदारको खोजीका लागि परिवारका सदस्य समेत त्यहाँ पुगेका छन्। बुधबार बिहान आएको पहिरोमा परी बेपत्ता भएका नरेन्द्र खडकाका बुवा र भिनाजु खोजीका लागि गढवाल पुगेका हुन् । 

खडकाका बुवा चूडामणि र भिनाजु नवीन थापा शुक्रबार दिउँसो बकुडा पुगेका छन् । उनीहरू बेपत्ता भएको खबर सुन्ने वितिक्कै बिहीबार घरबाट हिँडेका हुन्। पहिरोमा परि नरेन्द्र सँगै उनकी श्रीमती सन्ध्या र १८ महिनाको छोरा रोमन बेपत्ता छन् ।

‘पहिरो मिसिएको खोला हेर्दा बेपत्ता भएकाहरू भेटिएलान् भन्ने आस छैन, तै पनि मनले मानेन एक पटक चित्त बुझाउन भए पनि यहाँ पुग्नुपर्‍यो,’ खडकाले भने, ‘कमाउन गएको छोराको परिवारै पहिरोले लग्यो, घरमा बस्न पनि सकिएन ।’

उनले बखुडा पुगेकै अवस्थामा बिहीबार दिउँसो पहिरो गएको क्षेत्रको निरीक्षणका लागि पुगेका उत्तराखण्डका शिक्षा, स्वास्थ्य तथा आपद् विभागका मन्त्री धनसिंह रावतलाई पनि भेटेका छन् । मन्त्री रावतले पहिरोमा परी बेपत्ता भएकाहरूका परिवारलाई उचित राहत उपलब्ध गराइने आश्वासन दिएको खडकाले बताए । 

‘तपाईँहरू प्रधान र मेटको सम्पर्कमा रहनुहोला, आपद् विभागले उचित निर्णय गरेर राहत दिनेछ,’ मन्त्रीले दिएको आश्वासनबारे खडकाले भने, ‘अहिले खोजीका लागि पनि सबै संयन्त्र परिचालन भएको छ ।’ उनले नेपालीहरूलाई काममा लगाउने मेट गोपाल खडकालाई पनि भेटेको बताए । 

बेपत्ताहरू भेटिने सम्भावना नदेखिएपछि खडका शनिवार घर फर्किने तयारीमा छन् । घर फर्केर अन्तिम संस्कारदेखि किरिया लगायतको काम गर्ने बताए । पहिरोमा परि बेपत्ता भएकी अमृता परियारका श्रीमान् रामु बखुडामै छन् । उनीहरू सँगै काम गरिरहेका छन् । रामु अहिले बोल्न सकिरहेका छैनन् । श्रीमतीका विषयमा कुरा गर्दा रुन थाल्छन् । अर्का बेपत्ता सुवास विकको घरमा पनि खबर पठाइएको बखुडामा रहेको चित्र बहादुर पौडेलले बताए । 

बुधबार बिहान बकुडा क्षेत्रमा ठुलो पहिरो आएपछि सडक निर्माणको कामका लागि त्यहाँ पुगेका ५ जना नेपाली कामदार बेपत्ता भएका थिए । सडन किनारमा टेण्ट गाडेर बसोबास गर्ने उनीहरूलाई पहिरोले टेन्टसहित बगाएर लगेको थियो । पहिरोमा परि४ जना घाइते भएका छन् । 

बेपत्ताहरूको खोजी कार्य जारी रहेको पौडीगढवाल प्रहरीका डीएसपी लोकेश्वर सिंहले बताए । तर निरन्तर वर्षा भइरहेका कारण खोजीमा समस्या भइरहेको छ । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully