बडिमालिकामा लडेर एक जनाको मृत्यु

बडिमालिकामा पूजा गरेर फर्कंदै गर्दा कठिन भौगोलिक स्थितिका कारण ओझा भीरबाट खसेका हुन्।

श्रावण २३, २०८२

अर्जुन शाह

One person died after falling in Badimalika

काठमाडौँ — बडिमालिका भीरबाट खसेर एक जना तीर्थयात्रीको मृत्यु भएको छ । हाल गोकर्णेश्वर–५, काठमाडौं बस्ने ५२ वर्षीय विप्लव ओझा बिहीबार राति बडिमालिका मन्दिर छेउको भीरबाट करिब सात सय मिटर तल खोचमा खसेका थिए । उनको मृत्यु भएको र शव निकाल्ने प्रयास भइरहेको बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिए ।

ओझा बिहीबार राति नै बडिमालिकाबाट फर्किने क्रममा भीरबाट लडेका हुन् । बडिमालिकामा कठिन भू–बनोट, चिप्लो र भिरालो बाटो छ । ‘दिउँसै हिँड्न त निकै कठिन हुन्छ, अँध्यारोमा हिँड्न सक्ने अवस्था नै हुँदैन,’ प्रजिअ पाध्याले भने, ‘मन्दिरमा पूजा गरेर राति नै तल त्रिवेणी फर्किँदै गर्दा भीरबाट खस्नु भएको भन्ने जानकारी छ ।’

बडिमालिकामा शुक्रबार बिहानैदेखि हजारौं भक्तजनहरू बडिमालिका पूजामा छन् ।

सेनाद्वारा पाँच सय बढीको उपचार

बाजुरामा अवस्थित बडिमालिका समुन्द्री सतहदेखि ४ हजार २ सय मिटर उचाइमा छ । शुक्रबार लाग्ने मेलाका लागि एक साताअघि देखि नै बडिमालिकामा हजारौंको संख्यामा पर्यटक तथा भक्तजन पुगेका छन् ।

त्यस क्रममा बिरामी परेका पाँच सय बढीको नेपाली सेनाले प्राथमिक उपचार गरेको जनाएको छ । बाजुरास्थित ईश्वरीबक्स गुल्मले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर उपचार गरेको हो । त्रिवेणी र बडिमालिका मन्दिरमा शिविर सञ्चालन गरिएको थियो ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully