जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाको रेकर्डअनुसार यो वर्ष मनसुन नेपालमा केही छिटो जेठ १५ गते नै भित्रिएको हो ।
What you should know
धनगढी — सुदूरपश्चिम प्रदेशमा ३ दिनदेखि लगातार वर्षा भइरहेको छ । मनसुन सुरु भएको लामो समयपछिको लगातारको झरीले बर्षेबालीमा जुटेका किसानलाई राहत पुगेको छ ।
कृषि ज्ञान केन्द्र कैलालीका सहायक कृषिप्रसार अधिकृत मदनराज जोशीका अनुसार ढिलै भए पनि यतिबेलाको बर्षाले किसानहरुलाई राहत भएको छ । खासगरी धान, मकै, कोदो र उखु लगायतका बर्षेबालीलाई ढिलो गरी पानी परे पनि राहत मिलेको छ । उनले यस वर्ष छिटो धान रोपाइँ सुरु भएको अवस्थामा निरन्तर पानी नपर्दा किसानहरु बर्षेबाली प्रभावित हुने चिन्तामा रहेको बताए । उनले भने, ‘यही गतिले निरन्तर वर्षा भएमा धानबालीलाई राम्रो हुने सम्भावना बढेको छ ।’
यसैबीच कैलालीको अत्तरियास्थित जल तथा मौसम विज्ञान कार्यालयका प्रमुख सञ्जयकुमार शाहका अनुसार आगामी केही दिनहरुमासमेत तत्काल भारी वर्षाको सम्भावना नभए पनि न्युनचापीय रेखा सरदर स्थानमै रहेकोले हल्का र मध्यम वर्षा भइरहने छ । ‘मध्यम वर्षाले किसानहरुका लागि थप राहत हुनेछ,’ उनले भने । उनका अनुसार सुदूरपश्चिमका तराई तथा पहाडी सबै जिल्लामा पानी परिरहेको छ ।
जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाको रेकर्डअनुसार यो वर्ष मनसुन नेपालमा केही छिटो जेठ १५ गते नै भित्रिएको हो । कमजोर प्रणालीका कारण जेठ १५ मा भित्रिएको मनसुन फैलिन नपाउँदै डाइभर्ट भएको थियो । दोस्रो चरणमा जेठ २९ गते मनसुन भित्रियो । असार ६ देशैभरि मनसुन फैलिएपछि वर्षा सुरु भएको हो ।
यसबर्ष सरदरभन्दा बढी मनसुनी वर्षा हुने आकलन गरिएको भए पनि असारदेखि साउनको दोस्रो सातासम्म फाटफुट मात्रै वर्षा भएकाले किसानहरु बर्षेबाली प्रभावित हुने चिन्तामा डुबेका हुन् । यतिबेला देशैभरि लगातार वर्षा भइरहेकाले पूर्वी तराई क्षेत्रमा पानी नपरेर रुकेको धान रोपाइँसमेत अहिले भइरहेको उनले बताए ।
जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार यसपटकको लगातार वर्षाले कैलाली तथा कञ्चनपुरका केही नदीहरुको सतह सतर्कता पार तह गर्ने अवस्थामा पुगेको छ । यद्यपि बुधबार दिउँसोदेखि झरी कम हुन थालेपछि केही नदीको सतह घटदै गएको छ । महाकाली नदीको सतह बुधबार बिहान ६ दशमलव ३५ मिटर पुगेको थियो । महाकालीको सतर्कता तह ६ दशमलव ८ मिटर रहेको छ । महाकालीमा पानी घटने क्रममा छ ।
यसैगरी कैलालीको चुरे क्षेत्रबाट उत्पत्ति भएर जिल्लाको दक्षिणपूर्वी भेगमा बग्ने पथरैया नदीको सतह ४ दशमलव ४४ मिटर पुगेको थियो । जबकि नदीको सतर्कता सतह ४ दशमलव ५० मिटर हो । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार पछिल्लो २४ घण्टामा कैलालीमा सबैभन्दा बढी पानी चुरे गाउँपालिकाको गर्भा दरबार क्षेत्रमा १३३ दशमलव ४ मिलिमिटर थियो । धनगढी र अत्तरियामा ६२ दशमलव ६ र कञ्चनपुरको दोधारा चाँदनीमा ९२ दशमलव ८ मिलिमिटर पानी परेको थियो ।
