बिरे जातका लागि अपीहिमालमा ३ दिन सार्वजनिक बिदा

सुर्माभवानीको बिरे जात्राको अवसरमा अपिहिमाल गाउँपालिकाका कार्यालयहरूमा तीन दिनको सार्वजनिक बिदा घोषणा गरिएको छ।

श्रावण २१, २०८२

मनोज बडू

3 days public holiday in Apihimal for bire caste

दार्चुला — अपीहिमाल गाउँपालिकामा लाग्ने लामो जात्रा बिरे जातका लागि ३ दिन सार्वजनिक बिदा दिइएको छ । अपीहिमाल गाउँपालिका-३ मा लाग्ने सुर्मा भवानी ‘बिरे जात’ को अवसरमा गाउँपालिकाभरि तीन दिन सार्वजनिक बिदा दिइएको  गाउँपालिकाले जनाएको छ ।

अपिहिमालको क्षेत्ती, घाँजिरदेखि बझाङको सुर्मासरोवरसम्म लाग्ने सुर्मा भवानीको ‘बिरे जात’को अवसरमा गाँपालिकामातहतका सम्पूर्ण कार्यालयहरूमा आज, भोलि र पर्सी तीन दिन सार्वजनिक बिदा दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर रावलले बताए । जिल्लाकै सबैभन्दा ठूलो जात्राका रूपमा मनाइने सुर्माभवानीको जात्रा साउन १८ गतेबाट सुरु भएको हो ।

धार्मिक मान्यताअनुसार साउन औँसीदेखि जात्रा मनाउन जाने बिरेहरू छुट्टिएर बसेका थिए । औंसीदेखि सुरु भएपनि विशेष पर्वका रू पमा दशमी तिथिबाट भव्यताका साथ मनाइने अपिहिमाल गाउँपालिका–३ का वडाध्यक्ष गगनसिंह कार्कीले बताए । उच्च हिमशृंखलाको बीचमा अवस्थित सरोवर धार्मिक पर्यटकीय तथा सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण छ ।

वडाध्यक्ष कार्कीका अनुसार सुर्माभवानीलाई बझाङका सिकारीले लखेट्दा सुर्मा तालमा विलय भएको धार्मिक मान्यता छ । सोही कारण सुर्मातालमा अपिहिमालको खण्डेश्वरीबाट जाने तीर्थालुले सरोवरमा पूजा गरेपछि मात्रै बझाङबाट आउने तीर्थालुले पूजा गर्ने चलन रहेको उनको भनाइ छ ।

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully