डडेलधुरामा मूल बीउ प्रमाणीकरण

आर्थिक वर्ष २०८१/०८२ मा उत्पादन गरिएका मूल बीउहरूमा बिउबिजन प्रयोगशाला सुन्दरपुर कञ्चनपुरको प्राविधिक सहयोगमा प्रमाणीकरण गरी ट्याग लगाउने कार्य सम्पन्न भएको तरकारी जर्मप्लाज्म संवर्द्धन तथा बीउ उत्पादन केन्द्रले जनाएको छ ।

श्रावण २०, २०८२

तर्कराज भट्ट

Original seed certification in Dadeldhura

डडेलधुरा — डडेलधुरामा उत्पादन गरिएका मूल बीउमा ट्याग (प्रमाणीकरण) लगाइएको छ । तरकारी जर्मप्लाज्म संवर्द्धन तथा बीउ उत्पादन केन्द्रले उत्पादन गरेका बीउहरुमा ट्याग लगाइ बजारमा पठाउने तयारी गरिएको छ ।

बीउको वैज्ञानिक प्रमाणीकरण प्रक्रिया अघि बढाउँदै मुला (मिनु अर्लि), रायो (खुमल रातो पात) र केराउ (सिक्किम लोकल) जातका बीउहरूमा ट्यागिङ गरिएको हो ।

आर्थिक वर्ष २०८१/०८२ मा उत्पादन गरिएका मूल बीउहरूमा बिउबिजन प्रयोगशाला सुन्दरपुर कञ्चनपुरको प्राविधिक सहयोगमा प्रमाणीकरण गरी ट्याग लगाउने कार्य सम्पन्न भएको तरकारी जर्मप्लाज्म संवर्द्धन तथा बीउ उत्पादन केन्द्रले जनाएको छ ।

कार्यालयका प्रमुख तारीसिंह ठकुराठीले किसानहरूलाई भरपर्दो, गुणस्तरीय र उत्पादनमा राम्रो परिणाम दिने बीउ प्रयोग गर्न प्रोत्साहन दिन प्रमाणीकरण गरिएको बताए । स्थानीय बीउ उत्पादनलाई प्रवर्द्धन गर्न पहिलोपटक यस्तो कार्य अघि बढाइएको ठकुराठीले बताए ।

डडेलधुरामा तरकारी जर्मप्लाज्म संवर्द्धन तथा बीउ उत्पादन केन्द्रले सिर्जना जातको टमाटर र मधु जातको काँक्राको हाइब्रिड बीउ उत्पादन कार्य पनि सुरु गरेको छ । मूल बीउ उत्पादन गर्ने उद्देश्यले २०४३ सालमा स्थापना भएको यो केन्द्रले गत वर्षहरुमा पनि मूल बीउ उत्पादन गर्दै आइरहेको थियो ।

स्थानीय उत्पादनलाई प्रमाणीकरण गरेर बजारमा ल्याउने प्रक्रिया यो वर्षबाट सुरु भएसँगै अब किसानलाई गुणस्तरीय बीउ सहजै उपलब्ध हुने विश्वास गरिएको छ ।

तर्कराज

Link copied successfully