सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

नेपाली कांग्रेस र नेकपा एमालेले ह्विप जारी गर्दै आफ्ना सांसदलाई विश्वासको मतको पक्षमा मतदान गर्न अनिवार्य उपस्थिति सुनिश्चित गर्न आह्वान गरेका छन्।

श्रावण १५, २०८२

अर्जुन शाह

Far West Chief Minister Shah taking vote of confidence today

What you should know

धनगढी — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज (बिहीबार) अपराह्न ५ बजे प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।

सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीले असार २० गते समर्थन फिर्ता लिएपछि संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री शाह विश्वासको मत लिन लागेका हुन्।

संविधानको धारा १८८ को उपधारा २ अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। सो धारा अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ।

बिहीबारको बैठकमा अनिवार्य उपस्थित हुन र विश्वासको मतको पक्षमा मतदान गर्न नेपाली कांग्रेस र नेकपा एमाले दुवै दलले ह्विप जारी गरिसकेका छन्। कांग्रेस संसदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामीले मतदानको दिन अनिवार्य उपस्थित भई पक्षमा मतदान गर्नुपर्ने र तटस्थ नरहनुपर्ने भन्दै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २८ बमोजिम ह्विप जारी गरिएको जानकारी दिए। यस्तै, एमालेले पनि ह्विप जारी गरेको छ।

सुदूरपश्चिम प्रदेश सभामा हाल नेपाली कांग्रेसका १८ र सत्ता साझेदार एमालेका ११ सांसद छन्। दुवै दलका सांसद मात्र भए पनि मुख्यमन्त्री शाहलाई बहुमत पुग्ने अवस्था छ। कुल ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ। कांग्रेस र एमालेका सांसदको संख्या २९ पुगेकाले शाहलाई विश्वासको मत दिलाउने सम्भावना प्रबल देखिन्छ।

अहिलेसम्मको अवस्थामा विपक्षमा माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ३, राप्रपाका १ र स्वतन्त्र १ गरी २२ सांसद देखिएका छन्।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully