सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत   

नाउपाका रञ्जिता पक्षधर सांसद कैलाश चौधरीले पनि मुख्यमन्त्री शाहको पक्षमा मतदान गरे

श्रावण १५, २०८२

अर्जुन शाह

Far West Chief Minister Shah got a vote of confidence

What you should know

धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । ५३ सदस्यीय सुदूरपशिम प्रदेश सभामा उनले ३० मत प्राप्त गरेका छन् । 

मुख्यमन्त्री शाहलाई कांग्रेसका १८, सत्ता साझेदार एमालेका ११ र नागरिक उन्मुक्तिका एक सांसदले मतदान गरेका हुन् । प्रदेशसभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ । 

सत्ता साझेदार रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) संसदीय दलले गत असार २० गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले संविधानको व्यवस्थाअनुरुप विश्वासको मत लिनु परेको हो  । तर मुख्यमन्त्रीले विश्वासको मत परीक्षण गर्ने बेला भने रञ्जिता पक्षधर सांसद कैलाश चौधरीले विश्वासको मतको पक्षमा मतदान गरेका छन् । 

विश्वासको मतको विपक्षमा १५ मत परेको छ । माओवादी केन्द्रका १०, एकीकृत समाजवादीका ३, राप्रपाका एक र एक जना स्वतन्त्र सांसदको मत विपक्षमा परेको हो । एक जना सांसद निलम्बनमा छन् । नागरिक उन्मुक्तिका सात जना रहेकामा ६ जना अनुपस्थित थिए ।

सत्ता साझेदार नाउपाले समर्थन फिर्ता लिएपछि संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्री शाह विश्वासको मत परीक्षण गरेका हुन् । 

नाउपा रेशम चौधरी पक्षधर अन्य ६ जना सांसद भने बैठकमा अनुपस्थित रहे । संसदीय दलका नेता घनश्याम चौधरीसहितका सांसदहरु रेशम चौधरी पक्षले काठमाडौंमा आयोजना गरेको नागरिक उन्मुक्ति पार्टीको राष्ट्रिय भेलामा सहभागी छन् । रेशम पक्षधरले भेलाबाट बिहीबार नै अध्यक्षबाट रञ्जिता श्रेष्ठ चौधरीलाई हटाएर रेशमका बुवा लालवीर चौधरीलाई अध्यक्ष बनाएको छ ।    

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully