आहारा प्रजाति र बासस्थानको व्यवस्थापनले बाघको संख्या वृद्धि भएको छ, अघिल्लो वर्षको तुलनामा राम्रो सुधार देखिएको छ ।
What you should know
कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वयस्क बाघको संख्या ४३ पुगेको छ । गत वर्ष कात्तिक २८ देखि पुस १० सम्म गरिएको अनुगमनमा भेटिएको बाघको संख्या बाघ दिवसको अवसर पारेर मंगलबार सार्वजनिक गरिएको हो ।
निकुञ्ज कार्यालयका अनुसार २१ भाले र १९ पोथी गरी ४० बाघ क्यामेरामा कैद भएका छन् भने ३ वटा बाघ विश्लेषणका आधारमा पुष्टि गरिँदा यहाँ कुल ४३ बाघ रहेको नतिजा सार्वजनिक गरिएको हो । अघिल्लो वर्षको गणनामा २४ भाले र १७ पोथी गरी ४४ वयस्क बाघ देखिएका थिए ।
‘आहारा प्रजाति र वासस्थानको उपयुक्त व्यवस्थापनकै कारण यहाँ बाघको संख्या पनि राम्रो छ,’ निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले भने, ‘आहारा प्रजातिको अवस्था देशका अन्य संरक्षित क्षेत्रहरूभन्दा राम्रो छ ।’ यहाँ आहारा प्रजातिको घनत्व प्रतिवर्ग किलोमिटरमा १४६ रहेको छ ।
बाघको राष्ट्रिय गणना प्रत्येक ४/४ वर्षमा गरिन्छ । २०२२ मा गरिएको गणनामा यहाँ ३६ वयस्क बाघ रहेको देखिएको थियो । संख्या घटेको तथा सिकारको जोखिम भएका क्षेत्रमा भने हरेक वर्ष अनुगमन गरिँदै आएको छ । यसले संरक्षण रणनीतिसँगै बासस्थान व्यवस्थापनमा पनि सहयोग पुर्याउने गरेको छ ।
‘विगतको तुलनामा बाघको विचरण राम्रो देखिएको छ, अहिले निकुञ्जका सबै क्षेत्रमा बाघको उपस्थिति छ,’ राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले भने, ‘अघिल्लो वर्षको अनुगमनमा निकुञ्जको पश्चिमी क्षेत्रमा मात्रै बाघ देखिएको थियो, अहिले पूर्वी क्षेत्रमा पनि राम्रो उपस्थिति देखिएको छ ।’ उनका अनुसार नयाँ बासस्थान बनाउने क्रममा बाघले पूर्वी क्षेत्रमा विचरण बढाएको हो । विगतको तुलनामा डमरुको संख्या पनि राम्रो देखिएको उनले बताए ।
निकुञ्जलाई २ गुणा २ वर्ग किलोमिटरका विभिन्न ग्रीडमा विभाजन गरी हरेक ग्रीडमा एक/एक जोडी स्वचालित क्यामेरा राखेर बाघको अनुगमन गरिएको थियो । यसपटक निकुञ्जलाई १०० ग्रीडमा विभाजन गरी २०० क्यामेरा जडान गरिएको हो । ती स्वचालित क्यामेराले खिचेका ८ हजारभन्दा बढी तस्बिरहरूको विश्लेषणबाट नतिजा तयार गरिएको हो ।
‘सहअस्तित्व र आयआर्जन, बाघ संरक्षणका लागि व्यवहार परिवर्तन’ भन्ने नारासहित मंगलबार बाघ दिवस मनाइएको छ। बाघ दिवसकै अवसरमा निकुञ्जले गत वर्षको अनुगमन नतिजा सार्वजनिक गर्नुका साथै अर्जुनी क्षेत्रस्थित पूर्व–पश्चिम राजमार्ग आसपास सरसफाइ पनि गरेको छ ।
