स्वास्थ्य सामग्री अभावमा साढे ६ घन्टासम्म शिशुलाई कृत्रिम श्वास

सिगास गाउँमा स्वास्थ्य सेवा सुधारको माग बढ्दै

श्रावण १३, २०८२

मोहन चन्द

Lack of health supplies Artificial respiration for the infant for 6 and a half hours

What you should know

बैतडी — यहाँको दुर्गम सिगास गाउँपालिका–४ स्थित आधारभूत स्वास्थ्य केन्द्र कन्धारमा कार्यरत अनमि जानकी पुजाराले कृत्रिम श्वास दिएर एक नवजात शिशुको ज्यान बचाएकी छन् । लक्ष्मी धामीका नवजात शिशुलाई उनले साढे ६ घण्टा कृत्रिम श्वास दिएर ज्यान बचाएकी हुन् ।

‘शिशु जन्मेपछि उनलाई श्वास फेर्न समस्या भएको थियो,’ पुजाराले भनिन्, ‘रातिको समयमा अन्य ठाउँ लैजान पनि सम्भव नभएपछि कृत्रिम श्वास दिएर नवजात शिशुको ज्यान जोगायौं ।’ 

निसास्सिएको शिशुको ज्यान जोगाउन अक्सिजन, एम्बुबेग, सक्सन मेसिन र पेनगुइन मेसिन लगायत उपकरण आवश्यक पर्छ । आधारभूत स्वास्थ्य केन्द्रमा एम्बुबेग बाहेकका अरू स्वास्थ्य सामग्री अभावका बावजुद पनि स्वास्थ्यकर्मी पुजाराले बच्चालाई लामो समय कृत्रिम सास दिएर बचाएकी हुन् ।

सिगासदेखि नजिकको सुविधासम्पन्न अस्पताल डडेल्धुरा पुग्न ९ घण्टा समय लाग्छ । स्वास्थ्य केन्द्रदेखि सडकसम्म पुग्न नै ५ घण्टा लाग्छ । राति ९ बजेर ३३ मिनेटदेखि बिहान ४ बजेसम्म कृत्रिम सास दिएर शिशुको ज्यान जोगिएको आधारभूत स्वास्थ्य केन्द्र कन्धराका इन्चार्ज चक्रबहादुर धामीले बताए ।

‘स्वास्थ्य केन्द्रमा एम्बुबेग मात्रै थियो, त्यही एम्बुबेगको सहायता र कृत्रिम सासले बच्चाको ज्यान जोगियो,’ उनले भने, ‘दुर्गमका स्वास्थ्यकेन्द्रमा आवश्यक स्वास्थ्य सामग्री हुनुपर्छ ।’

आधारभूत स्वास्थ्य संस्थामा आधारभूत स्वास्थ्य उपकरणको मात्रै व्यवस्थापन गर्न सके स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सकिने इन्चार्ज धामीले बताए । स्थानीय तहभित्रका स्वास्थ्य संस्थाको व्यवस्थापन गर्ने जिम्मा स्वयं स्थानीय तहलाई हुन्छ । 

सिगास गाउँपालिकाले गत आर्थिक वर्षमा विभिन्न वर्थिङ सेन्टरको स्वास्थ्य सामग्री खरिद र अन्य स्वास्थ्य सामग्री खरिदको लागि ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । स्वास्थ्य संस्थाबाट माग भई आएको सामग्री खरिद गरेर दिने गरेको स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले बताए । 

संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा पहुँचको हक सुनिश्चित गरेको छ । दुर्गममा स्थास्थ्य सेवा पुगे पनि स्वास्थ्य सामग्री अभावले नागरिकले आधारभूत स्वास्थ्य सेवाबाटै वञ्चित हुनुपरेको छ ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully