पटेरा खल्लामा बाढीकै त्रास

‘पहाडमा पहिरोले दु:ख दियो, तराईमा बाढीले,’ उनले भने, ‘गरिबका लागि जहाँ गएपछि दु:ख मात्रै ।’

श्रावण १०, २०८२

भवानी भट्ट

Fear of flood in Patera Khalla

What you should know

कञ्चनपुर — दोधारा चाँदनी नगरपालिका–३ पटेरा खल्लाका चक्रबहादुर शाही जोगबुडा नदीमा जलस्तर बढ्ने बित्तिक्कै पोहोर सालकै बाढीको बबन्डर सम्झिन्छन् । उनलाई फेरि जोगबुडाको बाढी बस्ती पसेर उठीबास हुने चिन्ता हुन्छ । नदी किनारमै घरभएका उनी बर्खा सुरु भएयता यस्तै चिन्तामा छन् ।

गत वर्ष जोगबुडा नदीको बाढी पस्दा बस्ती पूरै विस्थापित भएको थियो । त्यतिबेला विस्थापित १० दिनसम्म विद्यालयमै बसेका थिए । बाढीले बस्ती डुबानमा मात्रै परेन । खेतीपाति सबै पुरियो, भित्रको अन्न पनि सबै बगायो । गाई भैंसी र बाख्रा पनि बगे । घरहरु पनि धेरै भत्कायो ।

‘बाहिर धान खेत पूरै बाढीले पटान गर्‍यो, भित्र भकारीमा भएका धान गहुँ पनि भिजेर बिग्रिए,' शाहीले भने, ‘कच्ची घर थियो त्यो पनि भत्कायो, बाख्रा र गाई पनि मरे ।’ उनका ४० बाख्रा थिए । ८ क्विन्टल धान र ५ क्विन्टल गहुँ सबै भिजेर कुहिएको थियो । त्यसपछि किनेरै खानुपरेको शाही बताउँछन् ।

कालिकोटको तिलागुफा नगरपालिकाबाट पहिरोका कराण विस्थापित भइ एक दशकअघि यहाँ पुगेका शाही बाढीका कारण बर्सेनि त्रसित छन् । ‘पहाडमा पहिरोले दु:ख दियो, तराईमा बाढीले,’ उनले भने, ‘गरिबका लागि जहाँ गएपछि दु:ख मात्रै ।’

यसपालि जोगबुडा किनारमा असल अलि तटबन्ध त बनाएको छ । तर त्यसले पनि भर नभएको पटेरा खल्लाकी स्थानीय आइती दमाईले बताइन् । उनले भनिन्, ‘पोहोर साल जेनतेन ज्यान जोगायौं, खेतीपाती र अन्न सबै बगायो, अहिले पनि कतिबेला जोगबुडा उर्लेर आउँछ र फेरि बस्ती पूरै डुबानमा पर्छ ।’

Fear of flood in Patera Khalla

पटेरा खल्लामा ४० बढी परिवारको बसोबास छ । बस्तीमा बाढी पसेपछि सबै नजिकैको विद्यालयमा आश्रय लिन्छन् । कतिपय आफन्त र छिमेकीको घरमा जान्छन् । गत वर्ष असार तेस्रो साता भीषण वर्षासँगै आएको बाढी बस्ती पसेपछि यहाँका ४० परिवार दुई सातासम्म विद्यालयमा बसेका थिए । वडा कार्यालय र विभिन्न संस्थाले उनीहरुलाई खाद्यान्न सहयोग गरेका थिए ।

‘नदी किनारमा पक्की तटबन्ध नबनेसम्म ढुक्क हुन सक्ने अवस्था छैन,’ इन्द्रबहादुर दमाईले भने, ‘पोहोरको बाढीले कच्ची घर भत्काएपछि अहिले धेरैले पक्की घर बनाएका छन् ।’ उनका अनुसार बर्सेनि बाढीको जोखिम भएकाले ऋण काढेर भए पनि पक्की घर बनाएको बताए ।

पटेरा खल्ला बर्खामा जहिल्यै डुबान हुने क्षेत्र हो । विगतमा यहाँ बस्ती थिएन । सुकुम्बासीहरुले एकाएक छाप्रो बनाएपछि यहाँ बाक्लै बस्ती बनेको छ । तर बर्खायाममा जहिल्यै डुबान हुने भएकाले स्थानीय ढुक्क भएर बस्न सकेका छैनन् । जोगबुडा नदी किनारमा पक्की तटबन्ध निर्माण भएपछि मात्रै ढुक्क हुन सक्ने उनीहरु बताउँछन् ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully