दार्चुलामा तीन हजारभन्दा बढी घरधुरी विपद्को उच्च जोखिममा

श्रावण ८, २०८२

मनोज बडू

Over 3,000 households in Darchula are at high risk of disaster

What you should know

दार्चुला — दार्चुलामा तीन हजार एक सय ९८ घरधुरी विपद्को जोखिममा रहेको पाइएको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार उक्त घरधुरीका आठ हजार एक सय २३ जना विपद्को जोखिममा परेका हुन्।

जिल्लामा विभिन्न समयमा आएको बाढीपहिरो, भूक्षय, चट्याङ् लगायतका प्राकृतिक विपद्ले जोखिम बढाउँदै गएको छ। यस वर्ष पनि आठ हजारभन्दा धेरै मानिसहरू भुक्षय, बाढी पहिरो, चट्याङ, भुकम्प रोगजन्य महामारी जस्ता विपद्‌बाट जोखिममा रहेका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए ।

समितिले तयार पारेको मनसुन पूर्वतयारी प्रतिकार्य योजना, २०८२ अनुसार जिल्लाका नौ वटै स्थानीय तहका विभिन्न खोलाहरुमा आउने बाढी, पहिरो, चट्याङ र भुकम्पको अनुमानित विवरण लिइएको प्रजिअ पौडेलले जानकारी दिए । दार्चुला बाढी, पहिरो र भुकम्पका दृष्टिकोणले निकै जोखिमयुक्त जिल्लामा पर्छ ।

समितिले अनुमान गरेअनुसार दुहु गाउँपालिका–२ का नरोली, राता, गुना, अफरे तथा ५ नम्बर वडाका बथ्थोली, सीमार, सुतखोला र ३ नम्बर वडाको श्रीबगर लगायत बस्तीका चार सय ५० घरधुरीका दुई हजार पाँच सय जनसंख्या बाढी र पहिरोका कारण प्रभावित हुने अनुमान गरिएको छ ।

त्यस्तै, नौगाड गाउपालिकाको जात्रा, गोधानी, बगड, सुण्डमुण्ड, दल्लेक, पारीखार, सीमार, जामिर, खुपिल्गााउ, होपरी, मल्लामट्टे, कपरे, उडालु, श्रीबगर, सौकेबगर, धुलीगडा, रैचु, गडिगाड, परिगाउ र थागिलगाडाबस्तीका दुई सय ५० घरधुरीका सात सय जनसंख्या प्रभावित हुन सक्ने अनुमान छ।

त्यसैगरी बाढी र पहिरोकै कारण जिल्लाको अपिहिमाल गाउँपालिकाका आरुखोडी ल्वाथी, गौडेखोला, राताभिटा, खिर्सा, क्षेत्ति, घाजिर, चौकीबगड, मज्जे, ककनाडी र पानीमुल बस्तीका एक सय बीस घरधुरीका छ सय जना प्रभावित हुन सक्ने सम्भावना रहेको छ। 

ब्यास गाउँपालिकाको मडगाउ, सुन्सेरा, भुल्चौरा बस्ती, गल्याबस्ती, तुसारपानी र तुसराडी क्षेत्रका ९० घरधुरीका चार सय ५० जनसंख्या बाढी र पहिरोको उच्च जोखिममा रहेका छन् । मालिकार्जुन गाउँपालिकाका विभिन्न वडाहरुमा गरी एक सय घरधुरीका छ सय जनसंख्या प्रभावित हुने देखिएको छ ।

जिल्ला सदरमुकाम खलङ्गामा रहेको महाकाली नगरपालिकाको श्रीबगर, बडालीगाउ, मुल्ला र वडा नम्बर ४ का केही स्थानका बस्तीहरुका पाच सय ५० घरधुरी र एक हजार सात सय ५० जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ ।

मार्मा गाउँपालिकामा २० घरधरीका एक सय ५० जनसंख्या, लेकम गाउपालिकाका १९ बस्ती र शैल्यशिखर नगरपालिकामा एक हजार तीन सय ७३ जनसंख्या प्रभावित हुने देखिएको प्रजिअ पौडेलले बताए। 

मनोज बडू बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully