What you should know
बाजुरा — जिल्लाको हिमाली गाउँपालिका–५ मा पर्ने कवाडी–क्युडी सडकको टुनीगडामा जिप दुर्घटना हुँदा घाइते भएकी एक व्यक्तिको थप मृत्यु भएपछि मृतकको सङ्ख्या तीन पुगेको छ।
जिप दुर्घटनामा परी घाइते भएकी सोही गाउँपालिका–५ की ३५ वर्षीया जुनेली रोकायाको उद्धारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिएका छन्।
उनका अनुसार क्युडीबाट वडा नम्बर ५ को वडा कार्यालय कवाडी जाने क्रममा जिप दुर्घटना भएको हो।
जिपमा क्षमताभन्दा बढी यात्रु सवार रहेको र सडक कच्ची भएकाले अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने बताइएको छ। जिपमा सवार १९ जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो।
दुर्घटनामा मृत्यु हुने अन्य दुई जना ७६ वर्षीय बिजौरा रोकाया र ७५ वर्षीया बाँचकला रोकाया रहेको जनाइएको छ।
दुर्घटनामा १३ जनाको अवस्था गम्भीर रहेको छ भने तीन जनाको अवस्था सामान्य रहेको छ। उनीहरूको उद्धारका लागि गाउँपालिकाको एम्बुलेन्स र स्वास्थ्यकर्मी परिचालन गरिएको छ।
घाइतेको उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गर्न पहल भइरहेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिएका छन्।
उनका अनुसार गम्भीर घाइतेको उद्धारका लागि गृह मन्त्रालयमा पत्र पठाइसकिएको छ। हाल घाइतेहरूको क्युडीको टुनीगडामा गाउँपालिकाका स्वास्थ्यकर्मीमार्फत उपचार भइरहेको छ।
![Bajura Jeep accident: Death toll rises to three [Update]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2018/default/default-21122017081643-1512018082436-1000x0.jpg&w=1001&h=0)