बाजुरा जिप दुर्घटना : घाइते १३ जनालाई सेनाको हेलिकोप्टरमार्फत उद्धार

श्रावण ८, २०८२

रासस

Bajura Jeep accident: 13 injured persons rescued by army helicopter

बाजुरा — बाजुराको हिमाली गाउँपालिकामा आज बिहान क्युडी गाउँबाट कवाडी आउँदै गर्दा जीप दुर्घटनामा परी घाइते भएका १३ जनाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । 

क्युडीबाट वडा कार्यालय कवाडीतर्फ आउने क्रममा बा प ०३–००१ ज ०३३८ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी दुई जनाको घटनास्थलमा र एक जनाको उद्धारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका चालक २३ वर्षीय गौरी बुढा, सोही गाउँपालिका–५ बस्ने ३५ वर्षीय बाँचलाल रोकाया, ७० वर्षीया भदौरी रोकाया, २२ वर्षीय बाँचधन रोकाया, ४५ वर्षीय वीरबहादुर रोकायालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शितलबहादुर रावलले जानकारी दिए । उनले एकैपटक सबै घाइतेलाई लैजान सम्भव नभएकाले पटकपटक गरेर सबैलाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको बताए ।

दुर्घटनामा परी ७६ वर्षीया विजौरा रोकाया र ७५ वर्षीया बाँचकला रोकायाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक चौधरीले बताए । उद्धारका क्रममा ३५ वर्षीया जुनेली रोकायाको ज्यान गएको थियो । कच्ची सडकमा जिप क्षमताभन्दा बढी यात्रु बोकेर आएको प्रहरीको भनाइ छ ।

रासस

Link copied successfully