बाजुरा दुर्घटना : भर्खर ट्य्राक खुलेको कच्ची सडक, ५ जना क्षमताको पिकअप भ्यानमा २१ सवार

श्रावण ८, २०८२

अर्जुन शाह

Bajura accident: Unpaved road, 21 passengers in a pickup van with capacity of 5 people

What you should know

धनगढी — बाजुराको हिमाली गाउँपालिकाको क्यूडीबाट गाउँपालिकाको केन्द्र धुलाचौर आउने क्रममा क्यूडी गाउँमै बिहीबार बिहान पिकअप भ्यान दुर्घटना भयो । दुर्घटनामा तीन जनाको मृत्यु भयो भने १८ जना घाइते भए ।

गम्भीर घाइते भएका सात जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि सुर्खेत लिइएको छ । अन्य घाइतेहरूमा १० जनाको कोल्टी अस्पताल र एक जनाको कवाडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ७६ वर्षीया बिजौरा रोकाया, ७५ वर्षीया बाँचकला रोकाया र ३५ वर्षीया जुनेली रोकायाको मृत्यु भएको छ । क्यूडी गाउँबाट कवाडी आउने क्रममा बा.प. ०३–००१ ज ०३३८ नम्बरको बोलेरो पिकअप भ्यान दुर्घटनामा परी गम्भीर घाइते भएका सात जनाको नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि सुर्खेत पुर्‍याइएको छ । क्यूडी गाउँका धनसिंह रोकाया, रनसुर सुनार, बीरबहादुर बुढा, बाँचलाल रोकाया, राजबहादुर बुढथापा, हुम्ला ताजाकोटका सुरेन्द्र शाही र चालक २३ वर्षीय गौरी बुढालाई उपचारका लागि सुर्खेत लिइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीले बताए ।

उक्त दुर्घटनामा घाइते भएका अन्य १० जनाको कोल्टी अस्पतालमा उपचार भइरहेको छ । क्यूडीका अम्म रोकाया, बाँचधन रोकाया, भदैरी रोकाया, भैजीत बुढा, अस्कली बुढा, दशरथ बुढा, छते रोकाया, साजन रोकाया, नवराज बुढा र भरत रोकायाको कोल्टी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये अन्य एक जना दलबहादुर चँदाराको स्थानीय कवाडीमै उपचार भइरहेको प्रहरी निरीक्षक चौधरीले बताए ।

‘अत्यधिक भारले अनियन्त्रित भएर उक्त जिप दुर्घटना भएको प्रारम्भिक अनुमान छ,’ प्रहरी निरीक्षक चौधरीले भने, ‘जिप माथिल्लो मोडबाट तल्लो मोडसम्म खसेको थियो ।’ बाजुराको निकै विकटमा पर्ने हिमाली गाउँपालिकाको क्यूडीसम्म यातायात सञ्चालन हुन सक्ने गरी सडक निर्माण सम्पन्न भएको छैन । गत मंसिर महिनामा ट्रयाक खोलिएको थियो । कच्ची सडकसमेत व्यवस्थित नभएकाले नियमित जिपहरू चल्दैनथे । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले गाउँपालिकाले सडक निर्माणकै क्रममा रहेको भन्दै जिप सञ्चालन नगर्न सचेत गराएको बताउँछन् । त्यही अवस्थामा स्थानीय पाँच जना यात्री सिट भएको बोलेरो जिपमा बिहीबार क्यूडीका २१ जना स्थानीय जिपमा यात्रा गरेर गाउँपालिकाको केन्द्र धुलाचौर आउन लागेका थिए ।

क्यूडीदेखि धुलाचौर पुग्न करिब २० किलोमिटरको दूरीमा प्रति व्यक्ति सात सय रुपैयाँ भाडा तिरेका थिए । गाउँपालिका अनुसार उनीहरू सामाजिक सुरक्षा भत्तालगायत विभिन्न कामका लागि धुलाचौरस्थित बैंकमा आउँदै थिए ।

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully