कृषक समूहका पदाधिकारीलाई मृत देखाएर किर्ते कागजात बनाउने २ जना पक्राउ

पक्राउ पर्नेमा एक जना मेयरका छोरा हुन्, उनीहरुमाथि जालसाजी र सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान भइरहेको छ

श्रावण ८, २०८२

मनोज बडु

2 people arrested for forging documents by pretending to be a farmer group official

दार्चुला — शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामीका छोरासहित दुईजना कर्मचारी सरकारी कागजात किर्ते र अपराधिक विश्वासघात (जालसाजी) अभियोगमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नगरपालिकाको कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामी रहेका छन् ।

जनकसिंह नगर प्रमुख विजयसिंह धामीका छोरा हुन् । जिल्ला अदालतबाट अनुमति लिएर बुधबार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी छत्रबहादुर रावलले बताए ।

उनका अनुसार उनीहरुमाथि जालसाजी र सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान भइरहेको छ । कृषि शाखा प्रमुख विष्ट र भेटेरिनरी प्राविधिक धामीले मालिकार्जुन अगुवा कृषक समूहका कोषाध्यक्ष जानकी धामी र सचिव मञ्जु धामीलाई मृत देखाएर झुटा कागजात तयार गरेका थिए ।

समूहको निष्क्रिय बैंक खाता सक्रिय बनाएर ‘ओखर पकेट क्षेत्र’ कार्यक्रमको रकम निकाल्ने तयारी भइरहेको अवस्थामा घटना बाहिर आएको थियो । कृषि शाखा प्रमुख विष्टले ग्लोबल आईएमई बैंक, गोकुलेश्वर शाखामा पत्राचार गरी समूहको खाताबाट जानकी र मञ्जुको सट्टा अध्यक्ष जनकसिंह धामी र सचिव बसन्ती बोहराको हस्ताक्षर मान्य गरिदिन अनुरोध गरेका थिए ।

मनोज

Link copied successfully