रामरेशर रानाको हत्या भएको पुष्टि*

श्रावण ६, २०८२

भवानी भट्ट

Ramreshar Rana's murder confirmed*

What you should know

कञ्चनपुर — लालझाँडी गाउँपालिका–४ सिगलपट्टीका रामरेशर रानाको हत्या भएको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वैशाख १७ मा राना घरनजिकै मृत अवस्थामा भेटिएका थिए ।

भारत उत्तराखण्डको चम्पावतमा ज्याला मजदुरीको काम गर्ने राना घटना हुनुभन्दा १५ दिनअघि मात्रै घर फर्केका थिए । जिल्ला प्रहरीले सोमबार घटना विवरण सार्वजनिक गरेको हो ।

जिल्ला अदालत कञ्चनपुरले असार २६ मा बेलौरी नगरपालिका–४ का पुन्ना रानालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ भने माया चौधरी र उनकी छिमेकी मानमती चौधरीलाई एक/एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिए पनि धरौटी बुझाउन नसकेर उनीहरू कारागार चलान भएका छन् ।

एसपी खडकबहादुर खत्रीले भने, ‘मृतकका आफन्तले दिएको किटानी जाहेरीका आधारमा अनुसन्धान गर्दै जाँदा उक्त कुरा खुलेको हो ।’ उनका अनुसार मृतकका आफन्तले पुन्नासँगै माया र मानमतीका नाममा किटानी जाहेरी दिएका थिए ।

प्रहरीका अनुसार बेलौरी–४ का पुन्ना राना ट्रयाक्टरमा लोड अनलोडको काम गर्थे । बेलौरीबाट बालुवा लिन लालझाँडी हुँदै कृष्णपुर नगरपालिकाको वाणीसम्म आउजाउ गरिरहन्थे । त्यही क्रममा २०८१ मा पुन्नाको मायासँग भेट भयो । फोन नम्बर पनि साटासाट भयो । त्यसपछि उनीहरूबीच नियमित रूपमा फोनमा र प्रत्यक्ष भेटघाट भइरहन्थ्यो ।

आरोपित पुन्नाले प्रहरीसमक्ष दिएको बयान अनुसार २०८१ चैततिर पुन्नाको भेट मायाकी छिमेकी मानमतीसँग पनि बेलौरीमै भयो । उनीसँग पनि नियमित रूपमा भेटघाट हुन थाल्यो । रानाले मानमतीलाई आफूले प्रयोग गरिरहेको सिमकार्ड पनि दिए ।

वैशाख १६ गते पुन्ना बेलौरीबाट मानमतीको घर हुँदै राति मायाको घरमा पुगे । मायाका श्रीमान कामका लागि दिपायल गएको थाहा पाएपछि पुन्नाले राति त्यहीँ बस्ने निधो गरे । केहीबेरमा रामरेशर घरमा पुगे । उनले ढोका ढक्ढक्याउँदा मायाले खोलिन् ।

त्यसपछि रामरेशर र मायाबीच झगडा हुन थाल्यो । दुवैले एकअर्कालाई हातपात गर्न थाले, त्यसैबीचमा पुन्नाले बाँसको चिर्पटले रामरेशरमाथि प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीसमक्ष बयान दिएका छन् । त्यसपछि माया, मानमती र पुन्ना मिलेर शवलाई सडक छेउमै फालेको पुन्नाले बयान दिएको प्रहरीले जनाएको छ ।

*यसअघिको शीर्षक र समाचारमा त्रुटि भएकाले सच्याइएको छ । सम्पादक

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully