निगालीका छाउगोठ भत्काइँदै

निगाली गाउँका ८ वटा छाउगोठ भत्काइयो

श्रावण ४, २०८२

भवानी भट्ट

Nigali slums are being demolished

What you should know

कञ्चनपुर — कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतेका बेला सर्पले डसेर उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि गोठ भत्काउन सुरु गरिएको छ । निगाली क्षेत्रबाट छाउगोठ भत्काउन सुरु गरिएको हो । शनिबार मृतक कमला आउजी दमाईकै परिवारले छाउगोठ भत्काएको छ ।

कृष्णपुर नगरपालिका प्रमुख हेमराज ओझासहितका जनप्रतिनिधि उपस्थित भएर स्थानीयकै अगुवाइमा छाउगोठ भत्काइएको हो ।

‘हालसम्म आठ वटा छाउगोठ भत्काइएको छ, सबै स्थानीयले स्वस्फूर्त रुपमै भत्काएका हुन्,’ कृष्णपुर–१ का वडाध्यक्ष बस्नेतले भने, ‘हामीले सबै स्थानीयलाई छाउगोठ भत्काउन अनुरोध गरेका छौं ।’ उनका अनुसार दुई वटा छाउगोठ शनिबार र ६ वटा दुई दिनअघि भत्काइएको हो ।

असार २७ मा छाउगोठमा सुतेका बेला सर्पले डसेर ३२ वर्षीया कमला आउजी दमाईको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । त्यसपछि नगरपालिकाले १५ दिनभित्र सबै छाउगोठ भत्काउन निर्देशन दिएको थियो । छाउगोठ नभत्काए कानुन अनुसार कारबाहीसँगै जरिवानासमेत गर्ने चेतावनी दिएको थियो । जिल्ला प्रशासन कार्यालयले पनि सबै स्थानीय तहलाई छाउगोठ भत्काउन निर्देशन दिएको थियो । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जिल्लाका नौ वटै स्थानीय तहलाई तत्काल छाउपडी कुप्रथा अन्त्य गर्न छाउगोठ भत्काउन निर्देशन दिएका थिए ।

‘केही छाउगोठ स्थानीयले आफैं भत्काए, अब सबै पक्ष छलफल गरेर अगाडि बढ्ने योजनामा छौं,’ वडाध्यक्ष बस्नेतले भने, ‘कतै अवरोध भए कसरी जाने भनेर स्थानीय र सरोकारवाला सबैसँग छलफल गरेर अगाडि बढ्ने छौं ।’ उनका अनुसार अहिले पनि सामाजिक सञ्जालमा छाउगोठ भत्काउने विषयमा केही नकारात्मक टिप्पणी आइरहेका छन् । कतिपयले घरभित्रै सर्पले डसेमा कसले जिम्मेवारी लिने लगायतका विषय सामाजिक सञ्जालमा लेखेर विरोध गरिरहेको अध्यक्ष बस्नेतले बताए । ‘छाउगोठ मात्रै भत्काएर यो समस्या समाधान हुँदैन,’ कृष्णपुर नगरपालिका–१ निगालीका स्थानीय सुचित्र शाहले भने, ‘भत्काउने अभियानसँगै सेचतना पनि फैलाउनुपर्छ ।’

अहिले पनि महिला छुट्टै पक्की छाउगोठ बनाएर विद्युत्समेत जडान गरी त्यहीँ बस्ने अडान लिइरहेको उनले बताए । यसका लागि प्रहरी र जनप्रतिनिधिसँगै सचेत स्थानीय सबैले लाग्नुपर्ने उनले बताए । छाउगोठसँगै महिलामा भएको अन्धविश्वाससमेत भत्काउन आवश्यक रहेको उनले बताए ।

‘छाउगोठ त भत्काइयो, अब कहाँ सुत्ने भन्ने चिन्ता सुरु भयो,’ निगालीकी अस्मिता दमाईले भनिन्, ‘मेरो त घरभित्र पनि ठाउँ छैन ।’ उनकै छाउगोठमा सुतेका बेला कमलालाई सर्पले डसेको थियो । उनको छाउगोठ सोही दिन अलिअलि भत्काइएको थियो भने शनिबार पूर्ण रुपमा भत्काइएको हो ।

निगाली क्षेत्रमा घरघरै छाउगोठ छन् । प्रायः अछामबाट बसाइँ सरेर आएकाहरुले छाउगोठ बनाएका छन् । निगालीमा मात्रै दुई/अढाई सय छाउगोठ रहेको वडाध्यक्ष बस्नेतले बताए । उनका अनुसार गत वर्ष पनि वडा कार्यालयले छाउगोठ भत्काउने अभियान सुरु गरेको थियो । कृष्णपुर–१ कै कुमगढामा ७ वटा छाउगोठ भत्काइएको पनि थियो । तर स्थानीयले अवरोधसँगै हातपातसमेत गरेपछि जनप्रतिनिधि उक्त अभियानबाट पछि हटेका थिए ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully