घरसँगै सरिरहेछन् छाउगोठ
What you should know
अछाम,कञ्चनपुर — अछामको पञ्चदेवल विनायक नगरपालिका–८ बारलाकी रमना शाही वडा सदस्य हुन् । कांग्रेसबाट वडा सदस्य निर्वाचित हुनुअघि उनी आमा समूहकी अध्यक्ष थिइन् । समाजमा अगुवाई गर्दै आएकी रमनाले सजिलै चुनाव जितिन् । तर उनले समाजमा रहेको छाउपडी कुप्रथालाई भने अझै जित्न सकेकी छैनन् ।
अछाममा २०७६ मा छाउगोठ भत्काउने अभियान सञ्चालन हुँदा उनी अग्रपंक्तिमा थिइन् । बारला गाउँका करिब २ सयभन्दा बढी छाउगोठ भत्काउन उनी आफैं सक्रिय भइन् । आफू पनि घरमै बस्न थालिन् । केही समय बारला छाउगोठमुक्त जस्तै भयो । तर, यो अवस्था धेरै टिकेन ।
रमना आफैं फेरि छाउगोठ बनाएर बस्न थालिन् । अहिले उनी जनप्रतिनिधिको रुपमा समाजमा अगुवाई गर्छिन् । तर उनले आफैंलाई परिवर्तन भने गर्न सकिनन् ।
‘छाउगोठ भत्काउने अभियान सुरु भएको बेला त्यसको नेतृत्व मैलै नै गरेँ । त्यपछि अभियान रोकियो । समाजका सबै एक भए । भत्काइएका छाउगोठ सबै बने । म पनि समाजभन्दा टाढा जान सकिनँ । छाउगोठमा बस्न थालेँ,’ रमनाले भनिन्, ‘हाम्रो गाउँको सबैभन्दा ठूलो देउता कुइकेल्नी माई हो । साक्षात देवी प्रकट हुने विश्वासले सबै डाराउँछन् । छाउ भएका यो ठाउँमा जागिर गर्ने महिलाहरु पनि नजिक आउन सक्दैनन् ।’
अभियान सुरु भएको बेला सबैले महिनावारी भएको बेला घरमा राख्ने निर्णय गरे पनि अभियान रोकिएपछि सबै गोठमा बस्न थालेको उनले बताइन् । समाजका सबै अगुवा, देवताका धामी, राजनीतिक दलका जनप्रतिनिधि एक ठाउँमा आएमात्रै गाउँबाट छाउपडी प्रथा हट्ने उनको बुझाइ छ ।
चौरपाटी गाउँपालिका—६ की ३२ वर्षीय बसन्ती साउँद खुला महिला कोटाबाट एमालेबाट निर्वाचित वडा सदस्य हुन् । १६ वर्षमै बिहे गरेकी उनका श्रीमान्को बिहेको एक वर्षमै निधन भयो । आधा जीवन एकल महिला भएर बिताइसकेकी उनी जनप्रतिनिधि भइकसकेपछि दिनचर्यामा फेरिए पनि जीवनशैलीमा भने परिवर्तन भएन । उनी अहिले पनि छाउगोठमा बस्छिन् । उनको गाउँ सेल्पाखामा हरेक घरमा छाउगोठ छन् । उनलाई जनप्रतिनिधि भइसकेपछि छाउगोठमा बस्न छोड्नुपर्छ भन्ने नलागेको भने होइन, समाजमा एक्लो हुने डरले उनले महिनावारी भएको बेला घरमा बस्ने आँट भने गर्न सकिनन् ।
‘देवताको डर देखाएर गाउँमा कोही पनि महिनावारी भएको बेला घरमा बस्न मान्दैनन् । समाजमा एक्लो हुने भएपछि म पनि महिनावारीका बेला घरमा बस्न सकेको छैन,’ उनले भनिन्, ‘समाजका सबै एकजुट भएर घरमा बस्ने सल्लाह भयो भने मात्रै घरमा बस्न सकिन्छ । हामीले चुनाव जितायौं हाम्रैविरुद्धमा लाग्ने भनेर सामाजिक बहिष्कार गरिदिन्छन् भन्ने डर लाग्छ ।’
केही जनप्रतिनिधिको घरमा छाउगोठ भेटिएको र अझै पनि यसको अभ्यास देखिरहेको अछाम प्रहरीको ठहर छ । छाउपडी प्रथाको अवस्थाबारे जनचेतना जगाउने विषयमा निरन्तर कार्यक्रम गरिरहेको अछाम प्रहरी प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारीले बताए । उनका अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अछामका १० वटै स्थानीय तहका विभिन्न विद्यालय र बस्तीमा गएर सचेतनाका कार्यक्रम गरिरहेको उनले बताए । छाउपडी कुप्रथा हटाउन जनप्रतिनिधिहरु नै अग्रसर हुन नसकेको उनले बताए । धेरैजसो जनप्रतिनिधि छाउगोठमै बसिरहेको जानकारी आइरहेको उनले बताए ।
‘जनप्रतिनिधिहरु विषेशगरी वडा सदस्यहरु छाउगोठमा बसिरहेको पाइन्छ । जबसम्म जनप्रतिनिधि आफैं अग्रसर हुँदैनन् तबसम्म यो समस्या कम हुन्छ जस्तो लाग्दैन,’ उनले भने, ‘धेरैजसो मान्छेहरु भेट्दा अब छाउगोठमा बस्दैनौं भन्छन् । तर भित्रभित्रै बसिरहेको देखिन्छ ।’ उनकाअनुसार जिल्लाका प्रहरी एकाइबाट चालु आर्थिक वर्षमा मात्रै १ सय ९० वटा छाउपडी कुप्रथा सम्बन्धीका कार्यक्रम भएका छन् ।
सामाजिक मुद्दा भएकाले स्थानीय तहले चासोको रुपमा लिए पनि शिक्षित र सामाजिक अगुवाहरुबाटै असहयोग भइरहेको पञ्चदेवल बिनायक नगरपालिकाकी नगरप्रमुख अम्बिका चलाउनेले बताउँछिन् । ‘यो कुप्रथालाई हटाउने यसकाविरुद्धमा अभियान भलाउने र न्यूनीकरण गर्नेेेे विषय राज्यको दायित्वभित्र त पर्छ नै । तर समाजका शिक्षित वर्गले पनि साथ दिनुपर्छ,’ उनले भनिन्, ‘हरेक नागरिकले आफ्नै मुद्दाको रुपमा लिएर सामाजिक अभियान चलाउनु पर्ने आवश्यकता छ ।’ छाउपडी कुप्रथालाई महिलाको मुद्दाको रुपमा मात्र नहेरेर मानव अधिकार र सामाजिक विषयको रुपमा पनि हेरिनुपर्ने उनले बताइन् ।
जनप्रतिनिधिको घरमै गोठमा बसेकोविरुद्ध बोल्दा असहयोग भइरहेको ढकारी गाउँपालिकाकी उपाध्यक्ष नेत्रकलादवी शाहीले बताइन् । ‘केही समयअघि वडा ३ मा तालिम अनुगमनका क्रममा महिलाहरु त्रिपाल टाँगेर, डोकोभित्र बसेको पाइयो,’ उनले भनिन्,‘यसरी बस्यो भने कारबाही हुन्छ भनेर सम्झाइ बुझाइ गरियो । समाज र कार्यापालिकाकै सबै संरचना एकातिर हुँदा कानुनी कारबाही गर्छौं भनेर बोल्न पनि सकिएन । अभियानका बेला सबै गोठ भत्किए, त्यसपछि त्रिपाल टाँगेर बारीको कान्लामा बस्न थालेका छन् ।’
गाउँपालिकाभित्रका जनप्रतिनिधिले छाउगोठमा, त्रिपाल टाँगेर र डोकोभित्र बस्नुलाई समस्या नै नठानेको उनले बताइन् । ‘देवीदेवता मान्ने मान्छेले छाउपडी घरमा राख्नुपर्छ भनेर बोल्नु हुँदैन भनेर जनप्रतिनिधिनै चर्काचर्की गर्छन् । एक्लै महिलाले लागेर केही पनि नहुँदो रहेछ,’ उनले भनिन्, ‘छाउपडी बार्नु हाम्रो परम्परा हो भनेर जनप्रतिनिधि हाकाहाकी भन्छन् । घटना घट्नुलाई पनि सामान्य रुपमा लिएका छन् । एक्लैले बोल्दा बोल्दै थाकिसकेँ । म गाउँपालिका उपाध्यक्ष भए पनि मेरै आवाज दबिएको छ ।’ पालिकाबाट छाउपडी कुप्रथा न्यूनीकरणका लागि अहिलेसम्म नीति, कार्यक्रम र बजेटमा केही पनि समावेश गर्न नसकिएको उनले बताइन् ।
ढकारी—१ का वडाध्यक्ष उमा बुढाको घरमा भएको छाउगोठ बुधबारमात्रै प्रहरीले भत्काएको छ । पहिले टोलभरिका महिला आफ्नो गोठमा आउने उनले बताए । ‘अहिले महिनावारी हुने मान्छे घरमा कोही छैनन् । छोरीहरु बाहिर पढाइका लागि गएका छन् । छाउगोठ अरुको जस्तो साँघुरो, फोहोर नभएकाले छिमेकी महिला बस्थे,’ उनले भने,‘अहिले गोठ भत्कासके, अब गाउँभरि यस्तो अभियान चलाउनुपर्छ ।’
घरसँगै सरिरहेछन् छाउगोठ
कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी अस्मिता दमाई ४६ वर्षकी भइन् । उनको परिवार २०२२ सालतिर अछामको साँफेबगर क्षेत्रबाट बसाइँ सरेर यहाँ आएको हो । १५/१६ वर्षको उमेरमा विवाह भएपछि मात्रै उनको परिवारले चार पटक घर सरिसकेको छ । हरेक पटक काठको घरसँगै छाउगोठ पनि नयाँ ठाउँमा सारिँदै आएको छ । अस्मिता लामो समय श्रीमान् सुके दमाईसँगै रोजगारीका लागि भारतको मुम्बईमा बस्थिन् । घरमा आएका बेला त्यहीँ गोठमा सुतेर छाउ बार्थिन् ।
सर्पदंशपछि उपचारका क्रममा मृत्यु भएकी कमला सुतेको छाउगोठ । उनको मृत्यु भएपछि उक्त गोठ भत्काइएको हो । तस्बिरः भवानी भट्ट/कान्तिपुर
अघिल्लो शुक्रबार राति सर्पले डसेर उपचारका क्रममा मृत्यु भएकी देउरानी नाता पर्ने कमला आउजी दमाई उनकै छाउगोठमा सुतेकी थिइन् । ‘मेरो छाउगोठ चुहिन्छ दिदी म हजुरकै गोठमा सुत्छु भनेर सरसफाइ गरेर गई, मैले नाइँ कसरी भन्नु,’ उनले भनिन्, ‘अघिल्लो दिन नाति बिरामी भएकाले अनिदो थिएँ, त्यो दिन चाँडै सुतिहाले, कमला आएर सुतेको थाहै पाइन, केहीबेरमा सर्पले टोक्यो भनेर चिच्याउन थालेपछि उठेर अटो खोज्नेदेखि गाउँलेलाई पनि बोलाए ।’ उनका श्रीमान् सुके र देवर सिद्धले नै उनलाई अटोमा राखेर धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पुर्याएका थिए । छाउगोठमा सर्पले डसेर कमलाको ज्यान गएपछि अस्मिताको छाउगोठ भत्काइएको छ ।
घरसँगै छाउगोठ पनि सारिरहने कमला अझै पनि दोधारामा छिन्, ‘फेरि अर्को छाउगोठ बनाउने कि घरभित्रै सुत्ने ?’ उनले मनैदेखि घरभित्र सुत्न सक्ने भनेर भन्न सकिरहेकी छैनन् । लामो समय उनको परिवारले भारतमा ज्याला मजदुरी गरेर अहिले पक्की घर बनिरहेको छ । तर त्यहीँ पक्की घरभित्रै सुते देउता रिसाउने र अनिष्ट हुने अन्धविश्वासले उनको मनमा जरा गाढेको छ । ‘गोठ त भत्कायौं, तर मेरो मनको भय भत्किएन,’ उनले भनिन्, ‘देवीदेउताले र यहाँका मान्छेले यो पनि भत्काइदिनुपर्यो ।’
कमलाको घर र सँगै रहेको छाउगोठ । तस्बिरः भवानी भट्ट/कान्तिपुर
सर्पले डसेर उपचारका क्रममा मृत्यु भएकी कमलाको घर अगाडिको छाउगोठ शनिबार मात्रै भत्काइएको छ । उनको परिवारका सदस्य पनि अन्योलमै छन् । कृष्णपुर नगरपालिकाले आइतबार सबै वडा कार्यालयलाई १५ दिनभित्र छाउपडी गोठ भत्काउन निर्देशन दिँदै नभत्काए कानुन अनुसार कारबाही र १० हजार जरिवानासमेत गरिने भनेको छ । ‘छाउगोठ त भत्काउने भनेको छ, तर हाम्रो परम्परा कसरी भत्केला ?,’ भारतको सुरतबाट घर पुगेकी कमलाकी जेठानी रुपाले भनिन्, ‘इन्डियामा त घरभित्रै सुत्थ्यौं, यस्तो गर्दैनथ्यौं, यहाँ पनि अब छाउगोठ भत्काउने भनेको छ, त्यसपछि के हुन्छ हेरौंला, अहिले घरभित्रै सुत्न सकिन्छ भन्न सकिँदैन ।’
मृतक कमलाको घरसँगै रहेको छाउगोठ शनिबार भत्काइँदै ।
सर्पले टोकेर कमलाको मृत्युपछि आइतबार कृष्णपुर नगरपालिकाले छाउगोठ भत्काउन निर्देशन दिएको थियो । सोमबार जिल्ला प्रशासन कार्यालयले पनि सबै स्थानीय तहलाई छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न पत्राचार गरेको थियो । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले छाउपडी गोठ भत्काएर परम्परागत कुप्रथा अन्त्य गर्न विशेष अभियान सञ्चालन गर्न जिल्लाका नौ वटै स्थानीय तहलाई पत्राचार गरेको हो ।
निगालीमा घरैपिच्छे छाउगोठ छन् । सबैको घर अगाडि वा पछाडि छाउगोठ देखिन्छ । स्थानीयले नयाँ पक्की घर बनाए पनि छेउमा अलग्गै काठको छाउगोठ बनाउने गरेका छन् । अझै पनि कतिपय स्थानीय महिला महिनावारीका बेला घरभित्र सुत्ने मनस्थितिमा छैनन् ।
‘छाउगोठ मात्रै भत्काएपछि घरभित्र कसरी बस्ने भन्ने चिन्ता हुन्छ,’ कमलाकी छिमेकी जानकी थापाले भनिन्, ‘कमला र म सँगै महिनावारी भएका थियौं, मैले मेरै गोठमा सुतौं भनेकी थिएँ, उनी जेठानीको गोठमा सुत्न गइन्, त्यहीँ सर्पले टोकेर यस्तो भयो ।’
कृष्णपुर–१ का वडाध्यक्ष मोहन बस्नेतले अघिल्लो शुक्रबारको घटनापछि वडाभरिका ६/७ वटा छाउगोठ भत्काइएको बताए । गत वर्ष पनि नगरपालिकाले वडा–१ कै कुमगडामा ४ वटा छाउगोठ भत्काएको थियो । ‘तीन/चार दिनमा ६/७ गोठ भत्काएका छौं । अब वडाका सबै टोलमा अभियान सञ्चालन गर्ने तयारी छ,’ उनले भने । गत वर्ष छाउगोठ भत्काउन गएको टोलीमाथि कुटपिट, गालीगलौज भएको र भत्काएका छाउगोठ फेरि बनाएका समुदायलाई सचेतनासँगै अभियान सञ्चालन गरिने उनले बताए । वडाभरि अझै पनि दुई सयभन्दा बढी छाउगोठ रहेको वडाध्यक्ष बस्नेतले बताए ।
