बैतडीमा भू–उपयोग क्षेत्र वर्गीकरण नगर्दा रोकियो कित्ताकाट

श्रावण ४, २०८२

मोहन चन्द

In Baitadi, due to non-classification of land-use area, land acquisition was stopped

What you should know

बैतडी — बैतडीका स्थानीय तहले भू–उपयोग क्षेत्र वर्गीकरण नगर्दा जमिनको कित्ताकाट रोकिएको छ । स्थानीय तहहरूले २०८२ असार मसान्तभित्र भू–उपयोग क्षेत्र नक्सा तथा विवरण अद्यावधिक गरेर नापी कार्यालयमा जानकारी गराउनुपर्नेमा त्यसो नगरेका कारण कित्ताकाट रोकिएको हो ।

दोगडाकेदार गाउँपालिकाबाहेक यहाँका ९ वटा स्थानीय तहले भू–उपयोग क्षेत्र वर्गीकरण नगरेको नापी कार्यालय बैतडीका प्रमुख रणसिंह रावलले बताए । ‘दोगडाकेदार गाउँपालिकाले मात्रै भू–उपयोग क्षेत्र वर्गीकरण गरेको रिपोर्ट कार्यालयमा बुझाएको छ,’ उनले भने, ‘रिपोर्ट नबुझाउँदा साउन १ बाट अरु पालिकाको कित्ताकाट रोकिएको छ ।’ 

भू–उपयोग नियमावली, २०७९ को नियम ५ बमोजिम स्थानीय तहको भू–उपयोग परिषदले भू–उपयोग ऐन २०७६ बमोजिम भू–उपयोग क्षेत्रको वर्गीकरण गर्नुपर्ने हुन्छ । 

केही स्थानीय तहले भू–उपयोग क्षेत्र वर्गीकरणको काम अन्तिम चरणमा पुगेको जनाएका छन् । नापी कार्यालय बैतडीले एक सूचना जारी गर्दै जिल्लाका ९ स्थानीय तहलाई भू–उपयोग क्षेत्र नक्सा तथा विवरण अद्यावधिक गरी रिपोर्ट कार्यालयमा बुझाउन आग्रह पनि गरेको छ । 

कित्ताकाट रोकिएपछि सेवाग्राही समस्यामा परेका भू–सेवा केन्द्र सञ्चालकले बताएका छन् । स्थानीय तहहरूले भू–उपयोग क्षेत्र वर्गीकरण गरेर रिपोर्ट बुझाएपछि मात्रै कित्ताकाट खुल्ने नापी कार्यालय बैतडीले जनाएको छ ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully