बैतडीका पालिकाले यस वर्ष पनि छापेनन् स्थानीय पाठ्यक्रमको पुस्तक

पाठ्यक्रम निर्माणमा प्रत्येक पालिकाले तीनदेखि पाँच लाखसम्म खर्च गरेका छन्

श्रावण ३, २०८२

मोहन चन्द

The municipality of Baitadi did not print the local curriculum book this year either

What you should know

बैतडी — शैक्षिक सत्र सुरु भएको तीन महिना बितिसकेको छ । तर, बैतडीका १० वटै पालिकाले अहिलेसम्म आफैले निर्माण गरेको स्थानीय पाठ्यक्रमको पुस्तक छाप्न सकेका छैनन् । गत शैक्षिक सत्रमा पनि पुस्तक नपढेरै विद्यार्थीले स्थानीय विषयको परीक्षा दिएका थिए ।

पालिकाहरूले लाखौं रकम खर्च गरेर कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गरेका थिए ।  पञ्चेश्वर गाउँपालिकाले मात्र स्थानीय पाठ्यक्रम र सन्दर्भ सामग्री निर्माण गरेको छ । बाँकी नौ स्थानीय तहले पाठ्यक्रम मात्र निर्माण गरेका छन् । 

सन्दर्भ सामग्री निर्माण गर्न नसकेका पालिकाका विद्यालयमा शिक्षकले बिना सन्दर्भ सामग्री पठनपाठन गराइरहेका छन् । गाउँपालिका शिक्षा शाखाबाट प्राप्त पाठ्यक्रमको नमुनाका अधारमा तयारी गरी विद्यार्थीलाई पढाइरहेको पिपलकोट माविका शिक्षक दीपक चन्दले बताए । ‘हामी त पाठ्यक्रमकै आधारमा पढाउँछौं, विद्यार्थीसँग स्थानीय पाठ्यक्रमको पुस्तक नहुँदा पढाएको कुरा बुझ्दैनन्,' उनले भने, 'स्थानीय पाठ्यक्रमको पढाइ हुन लागेको दुई शैक्षिक सत्र हुँदा पनि पुस्तक नछाप्दा विद्यार्थीहरुको पढाइ प्रभावकारी भइरहेको छैन ।’

पाठ्यक्रम निर्माण गर्दा प्रत्येक पालिकाले तीनदेखि पाँच लाखसम्म खर्च गरेका छन् । स्थानीय पाठ्यक्रमको पुस्तक छपाइका लागि खर्च व्यवस्थापन गर्न नसक्दा अहिलेसम्म स्थानीय पाठ्यक्रमको पुस्तक छाप्न नसकेको पञ्चेश्वर गाउँपालिका शिक्षा शाखा प्रमुख महामल सिंह घटालले बताए । 

‘जनक शिक्षा सामग्री केन्द्रले तोकेको दररेटमा स्थानीय पाठ्यक्रमको पुस्तक छाप्न सकिँदैन,' उनले भने, 'गाउँपालिकासँग पुस्तक छपाइको बजेट माग गर्दा अभाव बताउँछन्, पाठ्यक्रम निर्माण गरी लागू गरेको दुई वर्ष भइसक्यो, विद्यार्थीलाई पुस्तक दिन सकेका छैनौं ।’

अरु पालिकाका शिक्षा शाखा प्रमुखहरुले पनि आर्थिक अभावले नै विद्यार्थीको लागि पुस्तक छाप्न नसकेको बताएका छन् । जिल्लामा कक्षा १ देखि ८ सम्म ४४ हजार विद्यार्थी अध्ययनरत छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले माध्यमिक विद्यालयसम्मको व्यवस्थापन गर्ने जिम्मा स्थानीय तहलाई दिएको छ ।

मोहन चन्द चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully