कैलाली र कञ्चनपुरबाट २२ लाखभन्दा बढी मूल्यको भन्सार छलीका सामान बरामद

श्रावण ३, २०८२

कान्तिपुर संवाददाता

Customs evasion goods worth more than 2.2 million seized from Kailali and Kanchanpur

What you should know

कैलाली — कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट करिब २२ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ ।

कैलालीको भजनी नगरपालिका–७ स्थित हिक्मतपुर घाटमा इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको गस्ती टोलीले भारतबाट अवैध रूपमा ल्याइएका अन्दाजी मूल्य ३८ हजार ३७० रुपैयाँ बराबरका बिडी, सुर्ती लगायतका सामानहरू बेवारिस अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

त्यस्तै, उता कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बसपार्क, बेदकोट नगरपालिका–७ सुडा, र पुनर्वास नगरपालिका–११ डोके बजार नजिकको सडक किनारमा रहेको गुम्बा क्षेत्रबाट समेत ठूलो परिमाणमा भन्सार छलीका सामानहरू बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका प्रहरी टोलीले फेला पारेका सामानहरूमा मुकुट, प्लास्टिकको फुलमाला, सुटपिस, धोती, गम्छा, चस्माको सिसा, रोलरको मोटर र किराना सामानहरू रहेका छन् । ती सबैको अन्दाजी मूल्य २१ लाख ७१ हजार ५१३ रुपैयाँ रहेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार सबै सामान नियन्त्रणमा लिइएको छ र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

कान्तिपुर

Link copied successfully