कोभिडले दियो उद्यमी बन्ने अवसर

श्रावण २, २०८२

भवानी भट्ट

Covid gave an opportunity to become an entrepreneur

कञ्चनपुर — भीमदत्त नगरपालिका–३ की भागरथी विष्ट घरकै काममा व्यस्त थिइन् । चुलोचौको र खेतीपातीमै रमेकी थिइन् । एसएलसीसम्म अध्ययन गरेकी उनले विवाहपछि अन्य कामबारे सोच्नै सकिनन् । माथिल्लो तहमा पढन पनि सकिनन् । पारिवारको रेखदेख गर्नुपर्ने भएकाले कुनै व्यवसाय वा रोजगारीमा पनि जोडिन सक्ने अवस्था रहेन ।

तर अहिले विष्ट सफल उद्दमी मात्रै बनेकी छैनन्, साबुन बनाउने तालिम दिन उनलाई भ्याइनभ्याइ छ । विभिन्न वडा र स्थानीय तहले प्रदान गर्ने तालिममा उनी प्रशिक्षकका रुपमा पुग्छिन् । यसबाट आम्दानीसँगै थप सिकाइ पनि हुँदै गएको उनले बताइन् ।

‘तालिम पनि दिइरहेकी छु, घरमा झोल साबुन पनि उत्पादन गरिरहेकी छु,’ विष्टले भनिन्, ‘विभिन्न वडा र पालिकाले साबुन बनाउने तालिम सञ्चालन गरेपछि बोलाउने गरेका छन् ।’ २ वर्षको अवधिमा भीमदत्त नगरपालिकाका ९ वटै वडामा यस्तो तालिम सञ्चालन गरिसकेको उनले बताइन् । त्यसैगरी उनले दोधारा चाँदनी नगरपालिकामा ३ वटा तालिममा मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरिसकेकी छिन् । शुक्लाफाँटा नगरपालिकामा पनि उनले एक हप्ता तालिम दिएकी छिन् । 

विश्वभर फैलिएको कोभिड—१९ को महामारीसँगै विष्टको जीवनले पनि कोल्टे फेरेको हो । समृद्ध र उत्थानशील एसिया तथा प्यासिफिकका लागि जापानी कोष (जेएफपीआर) अन्तर्गत एसियाली विकास बैंकको अनुदान सहयोगमा नेपालमा सञ्चालित मझौला तथा साना सहरमा खानेपानी, सरसफाइ स्वच्छता र स्वास्थ्य सेवाको प्रवर्द्धनमार्फत कोभिड–१९ रोकथाम तथा नियन्त्रण आयोजना (कोभिड रेस्पोन्स आयोजना) सुरु भएपछि विष्टको जीवनमा परिवर्तन आएको हो । 

आयोजनाले आफ्नो कार्यक्षेत्रका महिलालाई साबुन बनाउने तालिम दिएपछि उनी पनि त्यसमा सहभागी हुन पाइन् । घरधन्दामै सीमित विष्ट पहिलो पटक तालिम लिनका लागि नगरकोट पुगेको बताइन् । त्यसअघि घरबाहिर निस्किनसमेत अप्ठेरो मान्ने आफूलाई तालिमले सीपसँगै व्यक्तित्व विकासमा समेत सहयोग गरेको उनले सुनाइन् । 

विष्टले अहिले घरमै झोल साबुन उत्पादन गर्छिन् । जुन होटेल तथा रेस्टुरेण्टमा बढी माग हुन्छ । मासिक ५/६ हजारको उक्त साबुन बिक्री हुने गरेको उनी बताउँछिन् । प्याकेजिङ र लेबलिङ गर्न सके ठूलो मात्रामा उत्पादन गरेर बिक्री गर्न सकिने उनले बताइन् । तर त्यसका लागि लगानी बढी चाहिन्छ । 

विष्टका श्रीमान् रमेश किराना पसल सञ्चालन गर्छन् । त्यसैबाट जेनतेन घर परिवारको खर्च र छोराछोरीको पढाइखर्च चलेको थियो । ‘अहिले आफूले पनि साबुन उत्पादन र तालिम दिन थालेपछि घर परिवारको खर्च चलाउन सहज भएको छ,’ उनले भने । आफूले उत्पादन गरेको साबुन आफ्नै किराना पसलबाट पनि बिक्री भइरहेको छ । 

‘गाउँ–घरमा झोल साबुन धेरै कम रुचाउँछन्, अधिकांशले सोडाकै प्रयोग बढी गर्छन्,’ विष्टले भनिन्, ‘बिस्तारै डल्ले साबुन पनि उत्पादन गर्ने योजना छ ।’ उनका अनुसार डल्ले साबुन नाङ्गोमा धेरै बिक्री हुँदैन । प्याकेजिङका लागि खर्चिलो बढी हुने भएकाले लगानीको समस्या छ । 

विष्टसँगै तालिम लिएकी भीमदत्त नगरपालिका–१५ निम्बुखेडाकी गोदावरी सेटी पनि आफूले जानेका कुरा सिकाउन विभिन्न ठाउँमा पुगिरहेकी छिन् । उनी नगरपालिका र वडाहरूले सञ्चालन गर्ने तालिममा प्रशिक्षकका रुपमा उपस्थित हुन्छिन् । दैनिक दुई/अढाइ हजारसम्म आम्दानी हुने उनले बताइन् । 

‘प्रयोगात्मक र सैद्धान्तिक दुवै कुरा सिकाउनुपर्छ,’ सेटीले भनिन्, ‘अहिले तालिम दिने काममै व्यस्त छु ।’ उनले घर नजिकै किराना पसल र कुखुरा पालन पनि गरेकी छिन् । साबुन उत्पादनको सोच पनि बनाएकी छिन् । तर त्यसका लागि चाहिने कच्चा पदार्थ सहजै स्थानीय बजारमा नपाउँदा समस्या भइरहेको उनले बताइन् । 

‘केमिकल यहाँ पाइँदैन, बाहिरबाट पनि ल्याउन सकिँदैन,’ सेटीले भनिन्, ‘त्यसका लागि हामीलाई केही सजिलो गरिदिनुपर्छ ।’ भारतबाट केमिकल ल्याउँदा नाकामा दुःख पाइने गरेको उनले बताइन् । सीप सिकेर पनि कच्चा पदार्थको उपलब्धता नहुँदा काम लगाउन नसकेको उनी बताउँछिन् । 

कोभिड सङ्क्रमणले गर्दा देशका १५ सहरमा सञ्चालित खानेपानी आयोजनाका कार्यहरू ठप्प भयो, ती आयोजनाको पुनः सञ्चालनका लागि आधार बनाउने क्रममा यो नयाँ कार्यक्रम सुरु गरिएको कोभिड रेस्पोन्स आयोजनाकी उपआयोजना निर्देशक मनिना वैद्यले बताइन् । उनका अनुसार आयोजनाले कोभिडसँग जुध्न स्थानीय स्तरमै साबुन लगायतका सरसफाइका सामग्रीको उत्पादन र प्रवर्द्धनका लागि प्रयास गरिरहेको छ ।

‘यही क्रममा स्थानीय निकायबाट छनोट भएका सहभागीलाई सीपमूलक तालिम प्रदान गरिएको हो,’ उनले भनिन् । यस क्रममा आयोजनाले १२ पुरुष र ५६ महिला गरी ६८ जनालाई साबुन बनाउने तालिम दिएको थियो । तीमध्ये करिब एक दर्जन सहभागीले आफ्नो व्यवसाय सुरु गरेको पाइएको छ । 

व्यक्तिगत सरसफाइ तथा सामाजिक दूरी कायम गर्नेजस्ता कोभिड महामारीका सिकाइलाई आधार मान्दै आयोजनाले स्थानीय स्तरमा सरसफाइ सामग्रीको उत्पादन हुँदा त्यसको उपलब्धता र उद्यमशीलता दुवैको प्रवर्द्धन हुने महसुस गरी यस्ता तालिम सञ्चालन गरेको उनले बताइन् । 

स्थानीय स्तरमा स्रोत व्यक्तिको उपलब्धतासँगै स्थानीय तहहरूले पछिल्लो समय साबुन बनाउने तालिम बढाउँदै लगेका छन् । तर तालिमसँगै उत्पादनतर्फ पनि जोड दिनुपर्ने सेटी बताउँछिन् । ‘त्यसपछि मात्रै सीपको सदुपयोग हुने र महिलाहरूले आम्दानी गर्न सक्नेछन्,’ उनले भनिन् ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully