सुदूरपश्चिमका पशुसेवा कर्मचारीलाई अभिमुखीकरण

असार ३०, २०८२

तर्कराज भट्ट

Orientation to Far West Animal Services staff

डडेलधुरा — पशु स्वास्थ्य तथा पशुसेवा व्यवसायी परिषद्को आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय समन्वय तथा ऐन–नियम कार्यान्वयनसम्बन्धी गोष्ठी डडेलधुरामा सम्पन्न भएको छ ।

सोमबार आयोजना गरिएको एकदिने गोष्ठीमा सुदूरपश्चिम प्रदेशका स्थानीय तहअन्तर्गत रहेका पशु सेवा शाखामा कार्यरत कर्मचारी र निजी पशु सेवा व्यवसायीको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्देश्य परिषद‍्अन्तर्गत निर्माण भएका कानुनी तथा नीतिगत दस्तावेजबारे जानकारी गराउनु रहेको परिषद्ले जनाएको छ । 

कार्यक्रममा परिषद्का रजिस्ट्रार जनकबहादुर रावलले सहभागीलाई परिषद्सँग सम्बन्धित ऐन, नियम, निर्देशिका, कार्यविधि र आचारसंहिताबारे विस्तृत जानकारी दिएका थिए । उनले व्यवसायीलाई नीतिअनुसार कार्य गर्न आग्रह गर्दै ऐन र निर्देशिका अनुसार सेवा प्रवाह नगर्नेहरू परिषद्को निगरानीमा पर्ने स्पष्ट पारे । 

गोष्ठीमा बोल्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेलधुराका प्रमुख देवराज भट्टले भने, ‘पहाडी क्षेत्रका ग्रामीण समुदायमा स्थानीय तहका पशुसेवा शाखाका कर्मचारीले समर्पित भएर सेवा दिएका छन् । उनीहरूको योगदानले पशुपालन व्यवसायमा उल्लेखनीय सुधार आएको छ । ’ 

परिषद्का अध्यक्ष डम्बरबहादुर बमले व्यवसायीलाई कानुनी र नैतिक रूपमा जिम्मेवार बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको स्पष्ट गरे । उनले भने, ‘राम्रो काम गर्नेलाई परिषदले सम्मान गर्छ, तर नियमानुसार काम नगर्नेलाई आवश्यक कारबाही हुन्छ । ’ उनले कार्यक्रमले स्थानीय तहका पशुसेवा पेसाकर्मीलाई एकीकृत सोच र कार्यशैली निर्माण गर्न मद्दत गर्ने अपेक्षा व्यक्त गरे । 

कार्यक्रममा स्थानीय तहका प्रतिनिधिले ऐन कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक चुनौतीबारे पनि छलफल गरेका थिए । सहभागीहरूले यस्तो खालको अभिमुखीकरण कार्यक्रमले आफ्नो कामलाई थप प्रभावकारी बनाउन सहयोग पुर्‍याउने बताएका छन् ।

तर्कराज

Link copied successfully