डडेलधुरा — सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले आत्महत्या, घरेलु हिंसा र दीर्घ रोगको जोखिम न्यूनीकरणका लागि मानसिक र शारीरिक स्वास्थ्यमा ध्यान दिनु आवश्यक रहेको बताएकी छन् ।
डडेलधुरा सदरमुकाममा शनिबार आयोजित ‘डडेलधुरा जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम’मा उनले ‘एक घण्टा आफ्ना लागि’ अभियानलाई प्रदेशका सबै घरसम्म विस्तार गर्ने लक्ष्य रहेको बताइन् । उनका अनुसार तीव्रगतिमा बढिरहेको आत्महत्या, घरेलु हिंसा र मानसिक समस्यालाई न्यूनीकरण गर्न नागरिकमा आत्मअनुशासन, नियमित व्यायाम र सन्तुलित जीवनशैलीको विकास अनिवार्य भएको छ । ‘हरेक व्यक्तिले दिनको कम्तीमा एक घण्टा आफ्ना लागि समय दिनुपर्छ,’ उनले भनिन् ।
उनले शारीरिक रुपमा स्वस्थ रहन व्यायाम, ध्यान, योग, मानसिक विश्राम र सकारात्मक सोच आवश्यक रहेको बताइन् । राज्यमन्त्री खड्काले पछिल्लो समय आत्महत्या र घरेलु हिंसाका घटनामा वृद्धि देखिएकाले सबै तह र तप्काबाट साझा प्रयास आवश्यक भएको उल्लेख गरिन् । विशेषगरी मदिरा सेवनका कारण घरेलु हिंसा बढिरहेको भन्दै उनले यसको व्यवस्थापनमा सामुदायिक स्तरमै हस्तक्षेप जरुरी भएको बताइन् । प्रहरीको तथ्यांकअनुसार डडेलधुरामा चालु आर्थिक वर्षमा ५५ वटा हिंसाका घटना प्रहरीमा दर्ता भएका छन् ।
‘स्वास्थ्यका सवालमा अब हामीले वडादेखि जिल्ला तहसम्मको संरचनालाई मजबुत बनाउनुपर्ने आवश्यक छ,’ उनले भनिन्, ‘विशेषगरी दीर्घरोगीहरूको संख्या बढ्दै गएको सन्दर्भमा जीवनशैलीमै सुधार ल्याउनु जरुरी छ ।’
स्वास्थ्य सेवा विस्तारको सन्दर्भमा उनले डडेलधुराको परशुराम नगरपालिकास्थित जोगबुडा अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा स्तरोन्नति गरिएको जानकारी दिइन् । उनका अनुसार ग्रामीण क्षेत्रका बासिन्दाको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रदेश सरकारले स्वास्थ्य शिविरदेखि विभिन्न सुधारात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ ।
राज्यमन्त्री खड्काले सामाजिक र राजनीतिक क्षेत्रमा समेत महिलाहरू हिंसामा पर्ने अवस्था अझै अन्त्य नभएको भन्दै यस्ता घटनाको अन्त्यका लागि राज्य, समाज र परिवार सबैको सक्रियता आवश्यक रहेको धारणा राखिन् ।
कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि र नागरिक समाजका अगुवाहरूको सहभागिता थियो । सहभागीहरूले ‘पूर्ण खोप सुनिश्चितता’लाई दीगो बनाउँदै जनस्वास्थ्य सुधारका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सुझाव राखेका थिए ।
