बैतडी — बैतडी जिल्लालाई एक कार्यक्रमबीच पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
जिल्लाको १० वटै पालिकालाई ‘पूर्ण खोप दिगोपना सुनिश्चितता’ घोषणापछि जिल्लालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य अधिकृत तीर्थराज भट्टका अनुसार पहिलो चरणमा जिल्लाका सबै पालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिसकेपछि निर्धारित इन्डिकेटर र ‘पूर्णखोप निर्देशिका २०७१’ को आधारमा सिंगो जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
पछिल्लो सर्वेक्षणअनुसार, ०–१५ महिनाका ४ हजार ३३१ जना बालबालिकाले पूर्ण रूपमा खोप लगाएको, २ बालबालिकाले कुनै पनि खोप नलगाएको भेटिएको छ । यस्तै, १६–५९ महिनाका १३ हजार १०५ बालबालिकाले पूर्णरूपमा खोप लगाएको, ४२ जनाले आंशिक रूपमा खोप लगाएको र एक जनाले कुनै पनि खोप नलागाएको तथ्यांक रहेको छ ।
खोप समन्वय समितिको सक्रियतामा हरेक पालिकाको वडामा घरभेट सर्वेक्षण गरिएको थियो । जिल्लाका ३२२ वटा खोप केन्द्रबाट बालबालिकालाई खोप लगाइएको थियो ।
आंशिक र शून्य खोप लगाएकाहरूलाई पनि पूर्णखोप लगाइने जनस्वास्थ्य कार्यालयले जनाएको छ । बसाइँसराइँले गर्दा बालबालिकाहरूले पूर्णरूपमा खोप नपाएको जनस्वास्थ्य अधिकृत भट्टले बताए ।
जिल्ला खोप समन्वय समितिले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणामा जिल्लाका १० जना उत्कृष्ट खोप कार्यकर्तालाई नगद र प्रशंसापत्र दिएर सम्मान गरिएको छ ।
