बाढीले विद्युत‍्को नहर बगाउँदा चार गाउँ अँध्यारै

असार २६, २०८२

मनोज बडू

Four villages are left in the dark when the flood sweeps away the electricity canal

दार्चुला — मंगलबार रातिदेखिको अविरल वर्षाका कारण बाढी आएर विद्युत‍्को नहर बगाउँदा दार्चुलाका चार गाउँ अध्यारै बनेका छन् ।

ब्यास गाउँपालिका–२, घट्टेखोलामा आएको बाढीले दुम्लिङ लघु जलविद्युत् आयोजनाको नहर बगाउँदा विद्युत् उत्पादन बन्द हुँदा स्थानीय अँध्यारोमा बस्न बाध्य बनेका हुन् । 

२ नम्बर वडाका तल्लो दुम्लिङ, बिचगाउँ, चौराकाठा र दुम्लिङ गोठानगाउँमा विद्युत् आपूर्ति बन्द भएको वडाध्यक्ष धीरन बुढाथोकीले बताए । उनका अनुसार मंगलबार रातिदेखिको लगातारको वर्षाले बुधबार बिहान करिब १:१५ बजेतिर खोलामा आएको बाढीले विद्युत‍्को नहर र आसपासका घरमा क्षति भएको हो ।

आर्थिक वर्ष २०६१/६२ मा गरिबी निवारण कार्यक्रमको आर्थिक सहयोग र राजाकोट युवा क्लबको प्राविधिक सहयोगमा निर्माण गरिएको दुम्लिङ लघुजलविद्युत् आयोजनाको नहरमा बाढीले क्षति पुर्‍याएको हो । बगाएर विद्युत् आपूर्ति बन्द भएपछि चार गाउँका १ सय ५ घरधुरीका मानिस अन्धकारमा बस्न बाध्य छन्। 

त्यस्तै उक्त बाढीले दुम्लिङ र काठादुम्लिङ जोड्ने २ वटा काठेपुल बगाएको छ । पुल नहुँदा काठादुम्लिङ्गका नागरिकको आवतजावत समेत बन्द भएको छ । खोला छेउमा रहेको अपिनाम्पा संरक्षण क्षेत्र दुम्लिङ पोष्टको कार्यालय र स्थानीयका ५  घर जोखिममा रहेको वडाध्यक्ष बुढाथोकीले जानकारी दिए । 

मनोज बडू बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully