डडेल्धुरा — लगातारको वर्षासँगै खोलानालामा पानीको बहाव उच्च भइरहेका बेला डडेल्धुराको परशुराम नगरपालिकामा एक जना महिला र एक जना बालिका साँदनी खोलाको टापुमा फसेका थिए ।
इलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुख प्रहरी निरीक्षक सुरज रोकायाको कमाण्डमा खटिएको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयको सहयोगमा उनीहरूको सकुशल उद्धार गरिएको जनाएको छ ।
आज दिउँसो परशुराम–६, तातापानीका दीप सिंहकी श्रीमती करिब २५ वर्षीया भुवनेश्वरी सिंह र सोही ठाउँ बस्ने १२ वर्षीया रितु भारती गोरु चराउन नजिकैको जंगल गएको बेला अचानक सादनी खोलामा पानीको बहाव तीव्र भइ उनीहरू खोलाको टापुमा फसेका थिए। स्थानीयले देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए।
खबर पाउने बित्तिकै इलाका प्रहरी कार्यालय तातापानी र सशस्त्र प्रहरी बलको संयुक्त टोली उद्धारका लागि घटनास्थलमा पुगेको थियो। प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको समन्वयमा खोलामा फसेका दुवैलाई सुरक्षित रूपमा उद्धार गर्न सकिएको प्रहरी निरीक्षक रोकायाले जानकारी दिए।
यसका साथै सोही क्षेत्रमा रहेको पुन्तुरा खोलाको बहावसमेत बढेपछि त्यहााबाट आवतजावत गरिरहेका सर्वसाधारणको समेत सुरक्षात्मक रूपमा उद्धार गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले महाकाली नदी, रंगुन खोला, पुन्तुरा खोला, सादनी खोला र अन्य खहरे खोलाहरुमा निरन्तर पानीको बहाव बढ्दै गएकाले त्यस आसपासका बासिन्दालाई विशेष सतर्क रहन र खोलातिर नजान आग्रह गरेको छ।
स्थानीय प्रशासनले सूचना जारी गर्दै भारी वर्षाका कारण कुनै पनि प्रकारको जोखिमबाट बच्न सावधानी अपनाउन र आवश्यक परेको अवस्थामा सुरक्षाकर्मी तथा स्थानीय निकायसँग समन्वय गर्न अनुरोध गरेको छ।
