कैलाली — गोदावरी नगरपालिकास्थित गोदावरी नदीको टापुमा फसेका ६ जनाको सकुशल उद्धार गरिएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त प्रयासमा उनीहरुलाई उद्धार गरिएको हो। नदीमा श्राद्ध गर्न गएका उनीहरु वर्षातको कारण एक्कासि बाढी आएपछि बीच भागमा फसेका थिए।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार उद्धार गरिएकाहरूमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का ६५ वर्षीय पल्लु सार्की, ६५ वर्षीया भागेश्वरी सार्की, १२ वर्षीय योगेश सार्की, ३५ वर्षीय विकट सार्की, ३५ वर्षीय वीर सार्की र बेदकोट नगरपालिका–०७ का २८ वर्षीय अब्दुल सार्की रहेका छन्।
घटनापछि समयमै सुरक्षा निकायहरू परिचालन गरिएकाले कुनै मानवीय क्षति नभएको जनाइएको छ। मान्छे फसेको सूचना पाएसँगै कैलाली प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणा र गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टसहितको टोली घटनास्थल पुगेको थियो ।
जिल्ला प्रमुख हमालले नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रमा नजान र सावधानी अपनाउन आग्रह गरेका छन ।
