सुदूरपश्चिममा हालसम्म ३३ जनामा कोरोना संक्रमण, डेंगी संक्रमण पनि बढ्दै

असार २४, २०८२

चित्रांग थापा

So far, 33 people have been infected with corona in Far West, dengue infection is also increasing

धनगढी — सुदूरपश्चिममा यो वर्ष जनवरीदेखि सोमबारसम्म ३३ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ३१ जना स्वस्थ भइसकेकाहरु छन् भने २ जना ७ दिनसम्म रहने सक्रिय संक्रमणको अवस्थामा छन् ।

प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले भारतमा कोरोना संक्रमण देखा पर्न थालेपछि प्रदेशका विभिन्न जिल्ला सीमानाकामा रहेका हेल्थ डेस्कमा नेपाल भित्रिने शंकास्पद व्यक्तिहरुको स्वास्थ्य परीक्षणलाई विशेष प्राथमिकता राखिएको जनाएको छ । प्रदेशमा यसअघि नै कोरोना महामारीका बखत सीमानाकामा हेल्थ डेस्क सञ्चालनमा रहँदै आएका थिए । 

कैलालीमा धनगढीको त्रिनगर र खक्रौला, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट र जोलजिवी नाकामा रहेका हेल्थ डेस्कमा कोरोनालगायत संक्रमित रोगहरुको परीक्षण हुने गरेको छ । हालका दिनमा सबैभन्दा बढी कोरोना संक्रमितहरु धनगढीको त्रिनगर नाका भएर भित्रिएका हुन् ।

त्रिनगर नाकास्थित हेल्थ डेस्कको तथ्यांकअनुसार जेठ २१ देखि असार २२ सम्म एन्टीजेन परीक्षण गरिएका ४२९ शंकास्पद व्यक्तिहरुमध्ये २४ पुरुष र ७ महिलासमेत ३१ जना कोरोना संक्रमित देखिएका हुन् । बाँकी २ जना कञ्चनपुरको गड्डाचौकी नाकामा भेटिएको हेल्थ डेस्कका स्वास्थ्यकर्मी विशाल भट्टले बताए ।

So far, 33 people have been infected with corona in Far West, dengue infection is also increasing

त्रिनगर नाकाको हेल्थ डेस्क इन्चार्ज गणेश साउदका अनुसार भारतबाट विभिन्न सहरबाट घर फर्कनेहरुमध्ये ज्वरो आएका र रुघाखोकीको स्वास्थ्य समस्या देखिएका शंकास्पद व्यक्तिहरुको मात्र हाल परीक्षण भइरहेको छ । सुरुमा परीक्षण किटको अभाव भइरहेकोमा हाल सबै हेल्थ डेस्कमा परीक्षण नरुक्ने गरी किट उपलब्ध भएको डेस्कका स्वास्थ्यकर्मीहरु बताउँछन् ।

सुदूरपश्चिम प्रदेशको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले कोरोना, डेंगी लगायतका रोगको संक्रमणको अवस्था, औषधि र परीक्षण किटको आपूर्ति र स्वास्थ्यकर्मीहरुको खटनपटन तथा व्यवस्थापन गर्दै आएको छ । उक्त केन्द्रका महामारी विपद सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार कोरोना परीक्षणका लागि आवश्यक पर्ने किटहरु केन्द्रीय आपूर्ति महाशाखा र प्रदेशको स्वास्थय आपुर्ति महाशाखाबाट समेत प्राप्त भइरहेको बताए । उनले हाल फाट्टफुट्ट अवस्थामा कोरोना देखा परेको छ । तर डेंगी भने सुदूरपश्चिमका प्राय: सबै जिल्लामा फैलिएकोले रोकथामका लागि अझ बढी सावधानी अपनाउनु पर्ने अवस्था रहेको बताए ।

सुदूरपश्चिम प्रदेशका प्राय: सबै जिल्लामा गत जनवरीदेखि हालसम्म १६७ जनामा डेंगी पोजिटिभ देखिएको छ । स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रको सोमबारको दैनिक बुलेटिनमा उल्लेख भएअनुसार प्रदेशको पहाडी जिल्ला डडेलधुरामा सबैभन्दा बढी डेंगु संक्रमणका केस देखिएको छ ।

यस्तै प्रदेशको कैलालीमा ३१, कञ्चनपुरमा २९, डोटीमा २५, अछाममा २४, बझाङमा ११ र दार्चुलामा २ डेंगीका संक्रमित देखिएको बेन्द्रको बुलेटिनमा उल्लेख छ । केन्द्रका महामारी विपद सम्पर्क व्यक्ति जोशीका अनुसार डेंगी संक्रमण फैलिन गर्मी र वर्षाको प्रतिकूल मौसमका कारण संक्रमणको जोखिम बढ्ने खतरा रहेको छ । डेंगी रोकथामका लागि सरकारी निकायबाट हुने तयारीसँगै नागरिक तह र स्थानीय निकाय तथा सम्बन्धित स्वास्थ्यसम्बन्धी संघसंस्थाबाट समेत लामखुट्टे नियन्त्रणमा समेत जनचेतना बढाउने कार्यक्रम सञ्चालनमा जोड दिनु पर्ने जोशी बताउँछन् ।

चित्रांग थापा कान्तिपुरका सुदूरपश्चिम संवाददाता हुन् ।

Link copied successfully