दोधारा चाँदनी सुक्खा बन्दरगाह : रुख कटान सकिएपछि निर्माणको बाटो खुल्यो

असार २४, २०८२

भवानी भट्ट

Dodhara Chandni Dry Port: The way for construction was opened after the tree felling was completed

कञ्चनपुर — रुख कटानको काम सकिएपछि महाकाली पारिको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको काम छिट्टै सुरु हुने भएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको गौरीशंकर सामुदायिक वनमा रुख कटानको काम सकिएसँगै निर्माण प्रक्रिया अघि बढाउने बाटो खुलेको हो । भारतसँगै सीमा जोडिएको दोधारा चाँदनी नगरपालिका–१ मा पर्ने गौरीशंकर सामुदायिक वनमा रहेका १ हजार ५ सय ९३ रुख काट्ने काम सकिएको हो । सुरुमा सामुदायिक वनको ४१ हेक्टर क्षेत्रफलमा रहेका १ हजार ७ सय २ रुख काटनुपर्ने भए पनि छपान गरिएका १ सय ९ रुख चोरी भएपछि काट्नुपर्ने रुखको संख्या कम भएको हो । काठसमेत चोरी हुन सक्ने भएकाले कटान गरिएको काठ निकुञ्जको पिपरैया पोस्टमा घाटगद्दी गरिएको छ ।

‘अब रुख कटानको काम सकिएपछि फिल्ड खाली भएको छ, छिट्टै निर्माण प्रक्रिया सुरु हुन्छ,’ इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भने, ‘एक किसिमले काम सुरु भयो भन्दा पनि हुन्छ, दुई देशका प्रधानमन्त्रीबाट संयुक्त रूपमा शिलान्यासपछि औपचारिक रूपमा काम सुरु हुनेछ ।’

उनले अहिले पनि सुख्खा बन्दरगाह निर्माणको ठेक्का पाएको कम्पनीले सर्भेको काम सुरु गरिसकेको छ । गजुरेलका अनुसार रुख कटानको काम सकिए पनि समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचारबाट जानकारी गराइसकेको छ । अब परराष्ट्र मन्त्रालयमार्फत भारतसँग पत्राचार हुनेछ । त्यसपछि संयुक्त रूपमा शिलान्यासदेखि निर्माण प्रक्रिया अघि बढ्ने उनले बताए । भारतले सुक्खा बन्दरगाह निर्माणका लागि ३ अर्ब ८० करोड नेपाली रुपैयाँमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइसकेको छ । आगामी तीन वर्षभित्र काम सक्ने लक्ष्य राखिएको गजुरेलले बताए ।

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको चर्चा सुरु भएको झन्डै दुई दशक पुग्न लागेको छ । यो बीचमा धेरै अध्ययन र अनुगमन पनि भएका छन् । ढिलै भएपनि सुक्खा बन्दरगाह निर्माणको काम अगाडि बढ्ने भएपछि स्थानीय खुसी देखिन्छन् । सुक्खा बन्दरगाह निर्माणपछि यहाँको नाकाबाट भारतसँगको व्यापार व्यवसाय बढ्ने अपेक्षा गरिएको छ । सुक्खा बन्दरगाहकै पूर्वाधारका रूपमा महाकाली नदीमा चार लेनको पक्की पुलसँगै पूर्वपश्चिम राजमार्गको अन्तिम बिन्दु गड्डाचौकीदेखि दोधारा चाँदनी नगरपालिका–१ मलेरिया नालासम्म ८ किलोमिटर ६ लेनको पहुँचमार्ग निर्माण भइसकेको छ । पहुँचमार्गको केही भाग कालोपत्र हुन बाँकी छ ।

भारततर्फ पनि राष्ट्रिय राजमार्गको जोगबुडा पुलबाट आकाशे पुलदेखि सडक निर्माणको काम चलिरहेको छ । सुक्खा बन्दरगाह निर्माणसँगै उक्त पहुँचमार्ग निर्माणको काम पनि सकिने अपेक्षा गरिएको छ ।

भारतले निर्माण गरेको डीपीआर अनुसार सुक्खा बन्दरगाहका लागि प्रशासनिक भवन, गोदाम घर, भान्सार, सुरक्षा र क्वारेनटिन घर तथा लोड/अनलोड सेड निर्माण गरिने छ । साथै चारैतर्फ पर्खाल निर्माण गरिनेछ । नेपालले गोदाम घर र पार्किङ क्षेत्र बढाउनुपर्ने माग गरे पनि तत्काल भारतले तयार पारेकै डीपीआर अनुसार काम हुने भएको हो । सुक्खा बन्दरगाह निर्माणको काम सुरु भएपछि इन्टरमोडल यातायात विकास समितिले पनि निर्माणस्थलमा कर्मचारी पठाउने तयारी गरेको छ । कार्यालय नै स्थापना गरेर कर्मचारी खटाइने कार्यकारी निर्देशक गजुरेलले बताए ।

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully