बझाङ — बझाङका तीन जना कृषक उत्कृष्ट कृषिकर्म गरेबापत प्रदेशस्तरीय पुरस्कारबाट सम्मानित भएका छन् ।
सुदूरपश्चिम प्रदेशको कृषि ज्ञान केन्द्रले प्रदान गर्ने उक्त पुरस्कारबाट छविसपाथीभेरा गाउँपालिका–६, का मकर बोहरा, जयपृथ्वी नगरपालिका–३, का केशवराज विष्ट र खप्तडछान्ना गाउँपालिका–६, का कृषक शम्सेर थापा पुरस्कृत भएका हुन् । पुरस्कार राशि जनही २५ हजार नगद, प्रमाणपत्र र दोसल्ला रहेको छ ।
बझाङ जिल्लाका पालिका प्रमुख तथा उपप्रमुखहरुको उपस्थितिमा उनीहरुलाई जिल्ला समन्वय समिति बझाङका प्रमुख नरबहादुर बोहराले पुरस्कार हस्तान्तरण गरेका थिए । पुरस्कृत बोहरा र थापाले व्यावसायिक रुपमा प्रांगारिक तरकारी खेती गरिरहेका छन् भने विष्टले बगुंर र कुखुरापालन गरिरहेका छन् ।
सानै उमेरदेखि व्यावसायिक तरकारी खेतीमा लागेका खप्तडछान्नाका २३ वर्षीय थापा अहिले १५ रोपनी जग्गामा विभिन्न जातका तरकारी उत्पादन गरिरहेका छन् । उनले तरकारी खेतीबाटै वार्षिक १० लाखभन्दा बढी आम्दानी गर्ने गरेका छन् । स्नातक तहमा अध्ययन गरिरहेका उनले आफूले पाएको सम्मानले युवा पुस्तालाई कृषिमा लाग्न प्रेरणा मिल्ने बताए । ‘गाउँमा अझै पनि खेती गर्नेलाई हेलाको नजरले हेर्ने सोच छ । मैले आफैले धेरै पटक यस्तो व्यवहार भोगेको छु,' उनले भने, ‘आज प्रदेशले गरेको सम्मानले कृषिमा काम गर्ने म जस्ता धेरै युवालाई थप राम्रो गर्न प्रेरणा मिल्ने छ भन्ने आशा छ ।'
स्थानीय तहका जनप्रतिनिधिहरुले वास्तविक किसानलाई भन्दा कार्यकर्ताहरुलाई कृषिसम्बन्धी अनुदान दिने गरेको उनले गुनासो गरे । ‘गाउँमा म जस्तै व्यावसायिक रुपमा काम गर्ने अरु पनि सात/आठ जना युवा छन् । उनीहरुलाई गाउँपालिकाले कहिल्यै प्रोत्साहन गर्दैन । तर नेताका अघि-पछि हिँड्नेलाई प्रत्येक वर्ष अनुदान दिइन्छ,' उनले भने ।
सोही कार्यक्रममा छविसपाथीभेरा गाउँपालिका–६, की कृषक मिनादेवी बुढा र तलकोट गाउँपालिका –७, का गोपीलाल विष्टलाई पनि उत्कृष्ट कृषि व्यवसाय गरेबापत कदरपत्र र दोसल्लासहित सम्मान गरिएको थियो । सम्मानित बुढाले व्यावसायिक तरकारी खेती र विष्टले लामो समयदेखि फलफूल खेती तथा नर्सरी गरिरहेका छन् । उनले सुन्तला, कागती, जुनार, अलैंची खेती गरिरहेका छन् भने विभिन्न जातका बिरुवाहरु नर्सरीमा उत्पादन गरेर फलफूल खेती विस्तारमा योगदान पुर्याइरहेका छन् । मिनादेवी गाउँलाई नमुना कृषि गाउँमा रुपान्तरण गर्ने कामको अगुवा हुन् । व्यावसायिक तरकारी खेतीबाट वार्षिक १० लाखभन्दा बढीको गोलभेँडा लगायत तरकारी उत्पादन गर्ने उनले गाउँका अन्य कृषकहरुलाई व्यावसायिक तरकारी खेतीमा लाग्न प्रेरित गरिरहेकी छन् । 'माटोमा पसिना बगाउँदा पनि सम्मान पाइने रहेछ,' उनले खुसी हुँदै भनिन् ।
किसानहरुलाई पुरस्कारका लागि सिफारिस गर्नुअघि जिल्लाभरिका व्यावसायिक किसानहरुको स्थलगत अनुगमन गरिएको कृषि विकास अधिकृत जनकबहादुर सिंहले जानकारी दिए ।
सम्मान कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र बझाङका प्रमुख खेम पनेरुले भुगोल र जलवायुका दृष्टिले सुदूरपश्चिम पहाडमा बझाङ जिल्ला कृषिका लागि निकै राम्रो सम्भावना भएको भए पनि तीनै तहका सरकारबीच समन्वय हुन नसक्दा सोचे जस्तो प्रतिफल प्राप्त हुन नसकेको बताए । ‘यहाँका सम्भावना साकार पार्न हामी सँगसँगै हिँड्नुको विकल्प छैन । एक्लाएक्लै दौडेर कहीं पुगिँदैन भन्ने कुरा प्रमाणित भैसकेको छ,' उनले भने ।
