डडेलधुरा — वैदेशिक रोजगारीका लागि डडेलधुराबाट चालु आर्थिक वर्षको १० महिनामा २ हजार १९४ जनाले श्रम स्वीकृति लिएका छन् । सीप र सही जानकारीको अभावबीच विदेसिनेको संख्या बढिरहेको सरकारी तथ्यांकले देखाएको छ ।
वैदेशिक रोजगारीतर्फको आकर्षण उच्च देखिए पनि आवश्यक सीप, कानुनी जानकारी र सचेतना अभावमा नेपाली युवाहरू समस्यामा परिरहेका छन् । बिहीबार सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत डडेलधुराको अमरगढी नगरपालिकाले सञ्चारकर्मीसँग गरेको अन्तरक्रियामा यो तथ्यांक सार्वजनिक गरिएको हो ।
कार्यक्रममा बोल्दै अमरगढी नगरपालिकाका रोजगार संयोजक लक्ष्मीप्रसाद अवस्थीले वैदेशिक रोजगारीको नाममा ठगी, कानुनी अन्योल र दलालको जालो झेलिरहेका युवाको संख्या बढ्दै गएको बताए । उनले वैदेशिक रोजगारीसँग सम्बन्धित सूचना र सेवाको पहुँच गाउँबस्तीसम्म पुर्याउन जरुरी रहेको धारणा राखे । सामी कार्यक्रमका अधिकृत विष्णु अर्यालले सूचनाको अभावले धेरै नेपाली विदेशमा पीडित बन्ने गरेको उल्लेख गर्दै कार्यक्रममार्फत कानुनी सेवा, सीप विकास तालिम, मनोसामाजिक परामर्श र वित्तीय साक्षरतासम्बन्धी सेवा दिइँदै आएको जानकारी दिए । वैदेशिक रोजगारलाई सुरक्षित बनाउन तीनै तहका सरकारबीच सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो ।
चालु आर्थिक वर्षको साउदेखि वैशाससम्म सुदूरपश्चिम प्रदेशका ३६ हजार ८ जनाले श्रम स्वीकृति लिएका छन् । तीमध्ये डडेलधुराबाट मात्रै २ हजार १९४ जनाले अनुमति लिएका हुन् । सुदूरपश्चिमका अन्य जिल्लाबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या यसप्रकार छ । अछाम ६ हजार ८२८, बैतडी ४ हजार ८८८, बझाङ २ हजार ९५७, बाजुरा २ हजार ५४३, दार्चुला २ हजार ३६१, डोटी १ हजार ८४, कैलाली ७ हजार ७४ र कञ्चनपुर ६ हजार ७९ जना रहेका छन् ।
नेपाल सरकारको तथ्यांकअनुसार हालसम्म ७८ लाखभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिइसकेका छन् । मुख्य गन्तव्य देशहरूमा साउदी अरब, यूएई, कतार, मलेसिया, कुवेत, जापान, दक्षिण कोरिया, क्रोएसिया, रोमानिया र बहराइन रहेका छन् ।
तर, वैदेशिक रोजगारीमा जानेहरूको अवस्था सहज भने छैन । आर्थिक वर्ष २०८०/८१ मा मात्रै १ हजार ३४६ जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन् भने ६९० जना अंगभंग भएर स्वदेश फर्किएका छन् ।
वैदेशिक रोजगार विभागमा ४ हजार ३५८ उजुरी दर्ता भएका छन्, जसमध्ये १ हजार ६२० मात्र समाधान भएका छन् । त्यस्तै, देशभरका जिल्ला प्रशासन कार्यालयहरूमा परेका ३ हजार ४०५ उजुरीमध्ये २ हजार २१७ मात्रै टुंगो लागेको छ ।
सुरक्षित आप्रवासन कार्यक्रम देशका सातै प्रदेशमा सञ्चालनमा रहेको छ । सुदूरपश्चिम प्रदेशमा मात्र ९ जिल्लाका १५ स्थानीय तहमा कार्यक्रम कार्यान्वयनमा छ । डडेलधुराको अमरगढी नगरपालिका, दार्चुलाको महाकाली नगरपालिका, बैतडीको दशरथचन्द नगरपालिका, बझाङको जयपृथ्वी नगरपालिका, अछामको मंगलसेन नगरपालिका, डोटीको दिपायल सिलगढी नगरपालिका, कैलालीको धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, घोडाघोडी नगरपालिका, गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका र जानकी गाउँपालिकामा कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रम विस्तारका लागि तयारी भइरहेको सामी परियोजनाले सुदूरपश्चिमका थप ५० स्थानीय तहमा आगामी वर्ष २०८२/८३ देखि सेवा विस्तार गर्ने योजना बनाएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाा विप्रेषण भित्रिएको थियो । २०८१ भदौमा मात्रै १ खर्ब २६ अर्ब २१ करोड रुपैयाँ विप्रेषण आएको छ ।
