चैते धान स्याहार्ने चटारोमा किसान

असार १६, २०८२

भवानी भट्ट

Chaite Paddy Cultivator in Chataro

कञ्चनपुर — पुनर्वास नगरपालिका–९ का दलबहादुर बुढालाई यतिबेला चैते धान भित्र्याउने चटारो छ । पानी परिरहेकाले उनलाई खेत डुबानमा पर्ने चिन्ता पनि छ ।

कामको चटारो र चिन्तासँगै पहिलो पटक चैते धान खेती गरेका उनी राम्रो उत्पादन भएका कारण ज्यादै हर्षित देखिन्छन् । ‘पहिलो चोटि लगाएको यो धान राम्रै फलेको छ, अब यो भित्र्याएर बर्खे धान लगाउने हो,’ बुढाले भने, ‘अर्को पालि अझै राम्ररी लगाउने सोचमा छु ।’ उनले करिब ५ बिघामा चैते धान लगाएका थिए । 

कृषि ज्ञान केन्द्र कञ्चनपुरले चैते धान प्रवर्द्धनका लागि कृषकलाई बीउसँगै सिंचाइ र खनजोतका सामग्री हस्तान्तरण गरेको छ । यसका साथै बेलाबेलामा कृषकका खेतमै पुगेर प्राविधिक ज्ञान दिनुका साथै रोग किराको उपचारमा समेत प्राविधिक खटिएका थिए । यही कारणले कृषक चैते धानमा आकर्षित भएका हुन् । 

सिंचाइ सुविधा उपलब्ध गराउन सकेमा बर्खाभन्दा बढी उत्पादन गर्न सकिने भएकाले बर्खे धानप्रति किसानको आकर्षण बढ्दो छ । तर बर्खायाममा भित्र्याउन समस्या हुने र बजारको समेत अभाव हुने भएकाले कृषक चिन्तित पनि देखिएका छन् । 

चैते धान खेती गरेका कतिपयले बाली भित्र्याइसकेका छन् भने कतिपय भित्र्याउनमा व्यस्त छन् । बर्खायाममा लहलह झुलेका धानका बाला निकै आकर्षक देखिन्छन् । बर्खा छल्दै किसान त्यही धान भित्र्याउन र रोपाइँ गर्नमा व्यस्त छन् । 

‘बर्खे धानका लागि चाँडै काटिसक्यौं,’ पुनर्वासकै ईश्वर बुढाले भने, ‘अहिले त काट्ने चुट्ने सबै मेसिनले गर्छ, त्यही भएर गाह्रो छैन ।’ उनले पनि दुई बिघामा चैते धान खेती गरेका थिए । पहिलो पटक चैते धान रोपेका उनले पनि सोचेभन्दा राम्रो उत्पादन भएको बताए । 

कञ्चनपुरमा डेढ सय हेक्टरमा चैते धान खेती गरिदै आएको छ । एक दशकअघिसम्म यहाँ चैते धान ४ सय हेक्टर बढीमा लगाइन्थ्यो । तर सिंचाइको समस्या, बजारको अभावदेखि विभिन्न कारणले कृषक घट्दै गएका छन् । कृषि ज्ञान केन्द्रले उत्पादनदेखि बजारीकरणसम्म सहयोग गर्न थालेपछि फेरि कृषक यसतर्फ आकर्षित हुन थालेका छन् । चैते धान साढे ४ देखि ५ मेट्रिक टन प्रतिहेक्टरसम्म फल्छ भने बर्खे धान करिब ४ मेट्रिक टन प्रति हेक्टर फल्छ । 

अहिले कञ्चनपुरमा हरदिनाथ १ र चैते ५ बढी मात्रामा लगाइने गरिन्छ । ‘अहिले बजारकै अभाव छ, मूल्य पनि राम्रो पाउँदैनन् किसानले,’ कृषि ज्ञान केन्द्र कञ्चनपुरका बाली विकास अधिकृत जागृह खनालले भने, ‘चैते धान खासगरी चिउरा बनाउन बढी प्रयोग हुन्छ, तर हामीकहाँ चिउरा उद्योग नै छैनन्, त्यही भएर पनि किसानले बजार पाउन नसकेका हुन् ।’ 

उनका अनुसार गहुँ खेती गरेपछि बर्खे धान पनि लगाउनका लागि चैते धान राम्ररी पाक्न पाउँदैन । यस्तो धान चिउरा बनाउन प्रयोग हुन्छ । राम्ररी पाकेको धान चामलमा पनि प्रयोग गर्न सकिन्छ ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully